• संवाददाता:-रामसरन यादव

    रौतहट, १८ भदौं । प्रहरी हिरासतमा मारिएका विजय रामलाई न्याय दिलाउन इलाका प्रहरी कार्यालय गरुडा अगाडी जारी रहेको धर्ना प्रदर्शनको क्रममा एक्कासी ढुंगामुद्धा हुन थाले पछि प्रहरीले बल प्रयोग गर्दा दुई जना प्रदर्शनकारी महिला सहित, प्रहरी सहित एक दर्जन व्यक्ति घाईते भएका छन् ।

    निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका सात जना मध्ये १९ बर्षिय विजय रामलाई प्रहरीले चरम यातना दिएर हत्या गरेको विरोधमा भदौं ११ गते देखि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका निरञ्जन राम र विजय राम संयुक्त संघर्ष समितिका कार्यकर्ताहरु विहिवार साँझ ५.३० बजेको समयमा इप्रका गरुडा माथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले आत्मरक्षार्थ लाठी चार्ज तथा टियरग्यास प्रहार गरेका हुन् ।

    लठी चार्जबाट अनसनमा बसेकी २ जना महिला गम्भीर घाईते भएपछि युवाहरु उग्र हुँदै प्रहरीमाथि ढुंगामुढा गर्न थाल्दा अवस्थालाई नियन्त्रणमा लिन टियरग्यास प्रहार गरेका छन् । टियरग्यास प्रहारबाट प्रदर्शन कारीहरु तितरवितर भएको छ । दुई जना गम्भीर घाईते भएकी महिलाको स्थानीय अनामिका अस्पतालमा उपचार भईरहेको संघर्ष समितिका सदस्य धर्मेन्द्र पासवानले बताए ।

    उता प्रदर्शनकारीको ढुंगामुढाबाट सुरक्षामा खटिएका करिव १० जना जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ । उनीहरुको स्थानीय हेल्थ ल्याण्ड अस्पतालमा उपचार भईरहेको जिल्ला सुरक्षा समिति श्रोतले बताएका छन् । शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गरिरहदा एकाएक आएर ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी नै घाइते हुन थाल्दा आत्म रक्षार्थ लाठी चार्ज र टियर ग्यास प्रहार गरिएको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरतबहादुर श्रोष्ठले जानकारी दिए ।