• रौतहट न्यूज़/ रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरमा वर्षौदेखी जीर्ण रहेको एक सडक कालोपत्रे भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
    माधोपुर डेरादेखी माइधिया मानपुर जाने करिव साढे ४ सय मिटर सडक कालोपत्रे भएको छ । माधोपुर र माइधिया मानपुर जोडने सडकको रुपमा रहेको उक्त सडक कालोपत्रेको काम सकिएको छ ।


    माधोपुर निवासी नेकपा एमालेका नेता संजिव कुमार यादवको विशेष पहलकदमीमा उक्त सडक कालोपत्रे भएपछि अब हिलो र धुलोको समस्याबाट स्थानीयहरुले मुक्ति पाएका छन् ।
    विकास निर्माण लगाएत समाजिक कार्यमा अग्रसर रहदै आएका एमाले नेता यादवले उक्त सडकको समस्या कसैले समाधान नगरेपछि आफनै पहलमा सडक कालोपत्रे गराएका हुन ।
    वर्षौदेखी उक्त सडक जीर्ण हुँदा बर्खायाममा हिलो र गर्मीका बेला धुलो उडने गरेका कारण सो सडक भएर आवत जावत गर्न सर्वसाधारणलाई निकै समस्या हुँदै आएको देखेर आफुले सो सडक कालोपत्रे गराएको नेता संजिव कुमार यादवको भनाई छ ।
    रामजानकी मठ माधोपुर देखी विशुनपूर्वा मानपुर सडकखण्डसंग जोडिएको उक्त सडक पक्की भएसंगै माधोपुरबाट विशुनपूर्वा मानपुर आवत जावत गर्न अब निकै सहज भएको छ ।
    मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागतमा उक्त सडकमा कालोपत्रेको काम सकिएको नेकपा एमालेका नेता भाग्यनारायण महतोले जानकारी दिएका छन् ।
    वषौँदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

    सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई माधोपुरदेखी शिवनगर, गरुडा बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ ।
    ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे गरिएपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको एमाले नेता उपेन्द्र साहले बताए ।
    पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो, भने अन्य कामले समेत शिवनगर गरुडा जान समस्या हुन्थ्यो, नेता साहले भने, ’तर अहिले सो सडकमा थुप्रै संख्यामा गाडीहरु चल्न थालेको छ, जसले गर्दा किसानहरु सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छन ।’ यसबाट किसानसमेत उत्साहित भएको उनको भनाइ छ ।