• ओम प्रकाश यादव

    रौतहट न्यूज़ //पूर्व मन्त्री तथा आम जनता पार्टीका रास्ट्रिय अध्यक्ष प्रभु साहले पुराना दलका नेताहरु आम जनतामाथी दमन, शोष्ण, अन्याय र अत्याचार गर्न थालेपछि आम जनताको रक्षा तथा देशको स्थायीत्व एवं निकासका लागि आफुले पार्टी खोलेको बताएका छन् ।


    पुराना राजनीतिक दलहरुले देश बनाउने नाममा भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गरी देशलाई आर्थिक संकटमा धकेल्नुका साथै जनतामाथी शासन गर्न थालेपछि उनिहरुको निरंकुश प्रवृतिलाई अन्त्य गरी जनतालाई न्याय दिलाउन आफना नेतृत्वमा आम जनता पार्टी गठन गरेको साहले बताएका छन् । गृह जिल्ला रौतहटको मौलापुर नगरपालिकाको मौलापुर स्थित नवनिर्मित पिकनिक पार्क तथा होटलको उद्घाटन गर्दै पुर्व मन्त्री समेत रहेका आजपा अध्यक्ष साहले देशका ठुला ठुला पुराना दलहरुले देशलाई निकास दिन नसक्ने बताउँदै अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउने ठोकुवा गरेका छन् ।


    नेताहरु जनतामाथी राज अर्थात शासन गर्न थालेपछि पार्टीमा पहुच भएका व्यक्ति, ठेकेदार, तस्कर, गुण्डा लगाएत नेताको संरक्षणमा रहेकाहरुको मात्र काम हुने र ठुला पार्टीमा नहुने आम जनताको कुनै काम नै नहुने प्रवृति बढेपछि देशमा नेताको होईन जनता राज ल्याउन आफुले माओवादी हुँदै नेकपा एमाले त्याग गरी नयाँ पार्टी खोलेको उनले बताए । आम जनताको लागि लड्ने कोही नभएकोले देशमा गरिव, विपन्न नागरिक, किसान लगाएत उत्पीडनमा परेका समुदाय तथा जातजातीलाई यो देशमा आम जनताको लागि पनि लड्ने आम जनता पार्टी छ भन्ने सन्देश दिन तथा अनुभुति दिलाउन आफुले नयाँ ढंगले अगाडि बढेको उनले बताए ।

    यो देशमा जब जब कुनै संकट आउँदा वा जनतामाथी अन्याय, अत्याचार र दमन शोष्ण हुँदा रौतहटको धर्तीले रक्षा गरेको उदाहरण दिदै साहले रौतहटले फेरी एक पटक जनतामाथी भइरहेको अत्याचार अन्त्य गर्न लागि परेको बताए । पहिला राणाहरुले अन्याय अत्याचार गर्दा रौतहटले नै राणाहरुलाई जवाफ दिएको बताउँदै उनले पञ्चायतकालमा राजाको निरंकुश प्रवृतिलाई समेत रौतहटले नै प्रतिवाद गरेको उनले प्रष्ट पारे ।

    रौतहटमाथी शोष्णमा परेका देशको हरेक गरिव, लाचार, निम्न वर्ग, किसान र विपन्न नागरिकको ठुलो आश रहेकोले आफुहरुले जनतालाई निराश हुन नदिने उनले बताए । देशको हरेक समस्या रौतहट अर्थात आम जनता पार्टीले मात्र समाधान गर्न सक्ने दावी गर्दै साहले अबको केही वर्षमै रौतहटले आफनो ताकत पुःन देखाएरै छाड्ने उद्घोष गरे । पुराना दलको लुट खसोट र शासनबाट आजित भइसकेका जनता अब उनिहरुको विकल्पमा आम जनता पार्टीलाई रोज्न थालेको उनले बताए । अब आजपाले मात्र देशलाई समृद्ध तथा विकसित बनाउन सक्ने दावी गर्दै अध्यक्ष साहले कसैको प्रलोभनमा नपरी आम जनताको एक मात्र पार्टी आजपामा लाग्न आम जनतालाई आग्रह गरे ।


    रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसा सदस्य तथा पुर्व मन्त्री प्रभु साहको मार्ग निर्देशमा मौलापुर स्थित भकुवा खोलाको पच्छिमी तटमा करोडौंको लागतमा सुविधा सम्पन्न पिकनिक पार्क तथा होटल सञ्चालनमा आएको छ । मैलापुर नगरपालिकाको १ करोड ३० लाख सहित अन्य विभिन्न निकाय र व्यक्तिहरुको गरी २ करोड ७४ लाखको लागतमा २९ कठ्ठा क्षेत्रफलमा २४ वटा कोठा भएको तिन तले भवनको शनिवार एक कार्यक्रमका बीच सांसद साहले उद्घाटन गरेका हुन् । सो भवनमा दुई सय क्षमताको तालिम गोष्ठि सेमिनारको लागि छुट्टै हलको व्यवस्था गरिएको छ भने भोज भतेर तथा पार्टिका लागि ३ सय ५० जना क्षमताको छुट्टै शेड निर्माण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् । वालवालिका, महिला पुरुष सबैलाइ अनुकुल हुने खुला जिमपार्क अन्तर्गत ११ वटा उपकरणहरु जडान भएका छन् भने ५ वटा जडान हुने क्रममा रहेको र पार्क भित्र बालबालिका तथा व्यस्क सबैलाइ अनुकुल हुने स्विमिङ पुल समेत निर्माणको काम चांडै प्रारम्भ गरिने अधिकृत साहले बताए ।
    विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी आदिका लागि अन्यत्र जानु नपरोस भन्ने उद्देश्यका साथ यो पार्क सहित होटल निर्माण गरिएको उनले बताए ।
    मौलापुर नगरपालिकाकी मेयर रिना देवी साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आम जनता पार्टीका मधेश प्रदेश अध्यक्ष उपेन्द्र साह, केन्द्रिय सदस्यहरु कुन्दन कुश्वाहा, शियाराम कुश्वाहा, पुर्व सांसद समिना हुसैन, देवाही गानाही नगरपालिकाका मेयर प्रेमलाल साह, मौलापुर नगर उपप्रमुख नागेन्द्र यादव लगाएत आजपाका सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।