• -राजकुमार यादव

    रौतहट न्यूज़// मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिबेला सबै उम्मेदवारहरू आ–आफ्नो क्षेत्रका मतदाताहरुको घर- घरमा पुगी घरदैलो अभियानमा व्यस्त रहेका छन् । सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसका लागि नेताहरूले आफू निर्वाचित भए केके गर्ने भन्नुपर्छ भन्दै त्यसको प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।

    रौतहट को  क्षेत्र नम्बर ३ मा धेरै जना उम्मेदवार भएता पनि मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार प्रभु साह र अर्का स्वतन्त्र  उम्मेदवार ओम प्रकाश बिच हुने स्थाननीयहरुको अनुमान छ ।  यी दुई नेता बिचको प्रतिस्पर्धालाई भने जनताले मौकामा कसले बढी काम गरेको छ भनेर मूल्याङ्कन गर्ने गरेका छन् ।

    त्यस्तै माओवादीबाट टिकट पाई उम्मेदवारी दिनुभएका धिरज पटेलले नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका साहलाई समर्थन गर्न अस्विकार गरेपछि सो क्षेत्रको निर्वाचन रोचक बनेको हो। माओवादीका उम्मेदवार  पटेल यतिबेला केन्द्रीय समितिले दिएको निर्देशनलाई बेवास्ता गरी चुनावी प्रचारप्रसारमा लाग्नुभएको छ।

    स्वतन्त्र उम्मेदवार एवं पूर्वमन्त्री साहलाई आफ्नो पार्टीमा भित्र्याउन केन्द्रले गरेको रणनीतिबमोजिम आफ्नो उम्मेदवार पटेललाई पछि हट्न निर्देश गरेको जानकारी दिँदै माओवादी पार्टीका जिल्ला संयोजक देवेन्द्र पटेलले उम्मेदवारी फिर्ताको समय सकिएको भोलिपल्ट नेता साहलाई समर्थन गर्न पार्टीले निर्देशन दिएको बताउनुभयो। उहाँकाअनुसार नेता पटेलले पार्टीको निर्देशनको सहर्ष पालना गर्नुपर्छ। नत्र परिस्थिति बिग्रन सक्छ भन्ने बताए ।

    अघिल्लो स्थानीय निर्वाचनमा टिकटबाट वञ्चित भई माओवादी पार्टी त्याग गरेका नेता पटेल पुनः माओवादीमै फर्किएपछि पार्टीले उहाँलाई प्रतिनिधि सभा सदस्य पदका लागि टिकट दिएको र नेता साहलाई समर्थन गर्ने अवस्था आएमा पछि हट्नुपर्ने सर्तसमेत राखेको बताइएको छ। 

    नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहनुभएका साहले एमाले पार्टीको टिकट परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले निष्कासन गरिसकेको छ।पूर्व मन्त्री साहले माओवादीबाट राजनीति सुरु गरेका र तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एमाले ओली पक्ष तिर लागेका साह अहिले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा अहिले सबैका ध्यान ३ नम्बर क्षेत्रमा केन्द्रित छ। त्रिकोणात्मक प्रतिस्पर्धा रहेको सो क्षेत्रमा कसले बाजी मार्ने हो कसैले आकलन गर्न सकेका छैनन्। तर स्वातन्त्र उमेदवार प्रभु साह र ओमप्रकाश वीच प्रतिस्पर्धा हुने स्थानीयहरुको भनाई छ ।

    साहले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री थिए ।  संविधानसभा निर्वाचन, २०६४ संविधानसभाको चुनावमा साहले ११,६२५ मत ल्याएको थियो भन्ने संविधानसभा निर्वाचन २०७० को चुनावमा १३, ००९ मत ल्याएर निर्वाचित भएको थियो । त्यस्तै प्रतिनिधिसभा निर्वाचन, २०७४ मा गृह जिल्ला रौतहट -३ बाट निर्वाचित भएका थिए । साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि भयो । २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री  र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए ।

    रौतहटमा साहको विकासको चर्चा बढेको छ । प्रभु साह लाई रौतहटमा विकासको काम गर्ने नेताको रूपमा मतदाताले औँल्याउन थालेका छन् । यता ओम प्रकाश ब्यापारिक पृष्ठभूमी बाट आएका र व्यापारमै व्यस्त रहेकाकोले स्थानीयहरु अन्यौलमा रहेको हो ।

    साहले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामहरूले नै जनताको मन जितेको दाबी गरेका छन् । निरन्तर क्षेत्रका जनताको काममा सक्रिय रहेका साहले दिनरात खटेर ३ नम्बर क्षेत्रको विकाश गरेको प्रति जनता धेरै खुसी भएको प्रतिक्रिया दिन्छन् । ‘जनताको सेवामा लाग्ने नेतृत्व चाहिएको छ, गरुडा नगरपालिकाका भिमडावर पिपरियाका स्थानीय चन्देश्व यादवले बताए ।