• सर्लाही, ३२ असार ।

    रौतहट न्यूज़// नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मधेश प्रदेश कमिटी सदस्य तथा लोकप्रिय युवा नेता चन्द्र भुषण साहले निर्वाचन आयोगको मतदाता नामावली दर्तामा जनताले भोग्दै आएको सबैखाले सास्ती, झंझट एवं असहजतालाई तत्काल अन्त्य गरी आम नेपाली जनताको सार्वभौमसत्ताको रक्षा गर्न माग गरेका छन् ।

    नेता साहले, सेवाग्राहीलाई तत्काल सहजता प्रदान गर्न कम्तिमा प्रत्येक पालिका पिच्छे निर्वाचन मतदाता नामावली दर्ता कक्षको स्थापना एवं सञ्चालन गर्नुपर्ने, आफ्नो घर-कार्यालयमैं बसी अनलाइन मार्फत पनि मतदाता दर्ता गर्न मिल्ने प्रणाली लागु गरी प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने तथा नागरिकता सम्बन्धी संघीय कानून निर्माणको अभाव र संघीय संसदको अकर्मण्यताका कारण उमेर पुगेर पनि संवैधानिक हकबाट बञ्चित नेपाली नागरिकको सन्तानको सवालमा विशेष बाटोबाट भएपनि तत्काल मतदाता दर्ताका लागी मार्गप्रशस्त गर्नुपर्ने जस्ता महत्वपूर्ण मागहरु पेश गर्दै सरोकारवाला पक्षहरुको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

    नेता सीबी साहले अगाडि थपें, “जनताद्वारा, जनतामाथि, जनताकैं लागी गरिने शासन व्यवस्था लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकैं अद्यावधिक निर्वाचन हो । आमनेपाली जनतालाई नेपालको संविधानले प्रदान गरेको सार्वभौमसत्ता उपयोग गर्ने एकमात्र वैधानिक एवं शान्तिपूर्ण विकल्प भनेको निर्वाचन नै हो ।”

    उमेर पुगेका हरेक नागरिकलाई चुन्न र चुनिन पाउने अधिकारका लागी निर्वाचन आयोगले मतदाता नामावली दर्तालाई अनिवार्य गरेको स्थिति छ । सोही प्रयोजनार्थ अहिले देशको लगभग हरेक जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरु झन्झटिलो र खर्चीलो चुनौतीको सामना गर्दैछन् । अव्यवस्थित, असहज एवं अस्तव्यस्त लाम (लाईन) लाग्नुपर्ने बाध्यताकैं कारणले गर्दा पनि हाम्रो देशको एउटा ठुल्लो हिस्साले आफ्नो सार्वभौम अधिकार उपभोग गर्नबाट बञ्चित रहेको स्थितिलाई नेता साहले उजागर गरेका छन् ।

    यति धेरै महत्वपूर्ण एवं संवेदनशील विषयमा समेत निर्वाचन आयोग, नेपाल सरकार र राजनीतिक दलहरु लगायतका सरोकारवाला पक्षहरुको उदेकलाग्दो उदाशीनता, मनपरी एवं चरम लापरवाहीले गर्दा नै आज आमजनतामा व्यवस्था, जनप्रतिनिधि र कर्मचारितन्त्रप्रति दिनप्रतिदिन नैराश्यता एवं आक्रोश झनझन बढ्दै गएको घटनाले आफुलाई चिन्तित तुल्याएको नेता साहको ठहर छ ।