• - राजकुमार यादव

    रौतहट न्यूज़// नेकपा एमलेका स्थायी कमिटी सदस्य एवम पुर्व मन्त्री प्रभु साहले रौतहटको १८ वटै पालिकामा नव निर्वाचित जनप्रतिनधीहरुलाई ईमान्दारीता साथ काम गर्दै पार्टीको छविलाई उजागर गर्न सुझाव दिएका छन ।

    नेकपा एमाले रौतहटको आयोजनामा आईतवार मौलापुर नगरपालिकाको सभाहलमा आयोजित नव निर्वाचित जनप्रतिनिधीहरुलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्वमन्त्री साहले जनताको समस्यालाई आफ्नो समस्या ठानेर ईमान्दारिता पुर्वक काम गर्न नव निर्वाचित जनप्रतिनिधीहरुलाई सुझाव दिएका हुन । रौतहट शिक्षामा एकदमै कमजोर बनेको र साक्षरता प्रतिशत तल झरेकोले यसलाई माथी उकास्न जनप्रतिनिधीहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा पुर्व मन्त्री साहको जोड थियो ।

    स्थानीय तहको निर्वाचनमा पार्टीको अपेक्षा अनुसार जनप्रतिनिधी निर्वाचित गराउन नसकिएपनि आसन्न निर्वाचनबाट प्रदेशसभा सदस्य र संघिय सांसद निर्वाचित गराउन नव निर्वाचित जनप्रतिनिधीहरुले मिहनेत गर्नु पर्नेमा उनको जोड रहेको थियो । बोली, कर्म, आचरण सबैको चर्चा होस यस्तो काम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उनले सुझाव दिएका हुन । पढाईले मात्र होईन मानिसले गरेको काम र कर्मबाट समाजमा सराहना हुने गरेकोले यसलाई मन्न् गरेर अगाडी बढ्न उनको विशेष जोड थियो ।

    एमालेको टिकटमा रौतहटमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य गरी एक सय ६६ जना जनप्रतिनिधी निर्वाचित भएका छन । यो संख्यालाई बढाउन नव निर्वाचित जनप्रतिनिधीहरुले गर्ने कार्यशैलीबाट प्रभाव पर्ने भएकोले अहिले देखी नै ईमान्दार र जनउत्तरदायी भएर काम गर्न उनले सुझाव दिएका थिए ।स्थानीय सरकार संचालनमा केन्द्र र प्रदेश सरकारको भुमिका विशेष रहने भएकोले आउदो निर्वाचनमा एमालेको सांसद र प्रदेश सभासदस्य जिताउन अहिले देखी नै सक्रिय हुन उनले जोड दिए ।

    एमाले रौतहटका जिल्ला सभापति अमरजी भन्ने त्रिभुवन साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम पुर्व प्रदेशसभा सदस्य कसन्दन कुशवाहा, एमालेका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज उपेन्द्र साह, एमालेका केन्द्रिय लेखा विभाग सदस्य राजकिशोर यादव, एकालेकी मधेश प्रदेश कमिटीकी उप सचिव आरती भण्डारी लगायतकाले मन्तव्य व्यक्त गर्दै पार्टीको टिकटमा नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गरेका थिए ।
    उक्त अवसरमा नवनिर्वाचित प्रतिनिधीहरुलाई प्रमुख अतिथी प्रभु साह, अतिथीहरु कुन्दन कुशवाहा, उपेन्द्र साह, राजकिशोर यादव, आरती भण्डारी लगायतकाले गम्छा ओढाई सम्मान गरेका थिए ।