• -राजकुमार यादव

    रौतहट न्यूज// रौतहट जिल्लाको पूर्वी भेगमा अवस्थित गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र उपनगर प्रमुख सुभद्रा गुप्ताले सुविधा बापत लिएको सबारी साधन आज बुधबार नगरपालिकालाई बुझाईएको छ ।

    निर्वाचन आचारसहिता लागु भएपछि नगर प्रमुख यादव र नगर उपप्रमुख गुप्ता लगायत ५ वाडाध्यक्षले आफु चढदै आएको सरकारी सवारी साधन फिर्ता गरेका हुन् । गढीमाई नगरपालिकाका नगर प्रमुख यादवले चढदै आएको ना. १ झ १६७५ नम्बरको स्कारपियो र नगर उपप्रमुख गुप्ताले चढ्दै आएका ना.१ झ १६१५ नम्बरको स्कारपियो गाडी फिर्ता गरेका थिए । सो गाडीको चाबी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवलाई नगर प्रमुख यादव र नगर उपप्रमुख गुप्ताले हस्तान्तरण गरेका थिए ।

    फोटो मदन साह

    नगर प्रमुख यादवले आउदो बैशाख महिना देखि नगरपालिकाको कुनैपनि सेवासुबिधा नलिने बताएका छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने र निर्वाचन आयोगले आचारसहिता जारी गरेको अवस्थामा आफुले सेवासुविधा लिन उपयुक्त नहुने भएकाले सबै सेवा सुविधा नलिने उनले बताए ।आफु निर्वाचित भएपछि गढीमाई नगरपालिकाका बिभिन्न स्थानमा गरी ५६ किलोमिटर सडक कालोपत्रे र ३५ किलोमिटर ढलान सडक निर्माण गरेको नगर प्रमुख यादवले जानकारी दिए ।

    पर्यटनको क्षेत्रमा विभिन्न स्थान शौन्दर्यकरण गरेको उनको भनाई थियो । रौतहट जिल्लाको धेरै नगरपालिका र गाउँपालिकाको कार्यालय भाडामा रहेको हो तर मेरो कार्यकालमा नगरपालिकाको भवन करोडौको लगतमा नवनिर्माण गरेको मेयर यादवले बताए । कार्यपालिकामा अल्पमत भएपनि नगरसभा तोकिएकै समयमा गरेर आफुले विकासका योजना छनौट गर्न सकेको उनको भनाइ रहेको छ । चाहेजती काम गर्न नसकेपनि गढीमाई नगरको मुहार परिवर्तन गर्न सकिएको उनको दाबी छ ।

    यता गौर नगरपालिकाका जनप्रतिनिधिहरुले भने शुक्रबार नै सवारी साधन फिर्ता गरिसकेका छन् । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता र बौधीमाई नगरपालिकाका नगर प्रमुख रविरंजन यादव सहित वडा अध्यक्षहरुले सवारी साधन फिर्ता गरेका हुन् । अन्य पालिकाहरुले भने अझै सम्म सवारी साधन बुझाएका छैनन् । रौतहटमा २ गाउपालिका र १६ नगरपालिका सहित १८ वटा स्थानिय तह रहेका छन् ।