• गरुडा समाचारदाता-कृष्णा तिवारी
    भदौ ७ गते, रौतहट ।

    रौतहट न्यूज़// प्रेम प्रस्ताव अस्वीकार गर्दा रौतहटमा एक महिलामाथी निर्घात कुटपिट भएको छ । गाउँकै एक पुरुषले गरेको प्रेम प्रस्ताव अस्वीकार गरेका कारण जिल्लाको गरुडा नगरपालिका ६ पोठियाहीकी एक महिलामाथी कुटपिट गरिएको छ ।

    प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पोठियाहीका करिव २७ वर्षिय सिकेन्द्र यादवले सोही स्थानका ३० वर्षिया महिला मोदिना खातुनलाई कुटपिट गरेका छन । श्रीमान वैदेशीक रोजगारीमा रहेको मौका छोपेर यादवले ति महिलालाई आफुसँग प्रेम गर्न अर्थात यौन सम्बन्ध राख्न प्रस्ताव गरेको थियो तर उनको प्रस्तावलाई अस्वीकार गर्दा यादवले खातुनको घरमै गएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

    सिकेन्द्रले आफुलाई फोनमा पटक–पटक यौन सम्बन्धको प्रस्ताव राख्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गर्दा घरमै आएर कुटपिट गरेको ती महिलाले बताइन् ।कुटपिटका कारण महिलाको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । कुटपिटबाट घाइते भएकी महिलाको गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ ।
    यादवले आफुलाई पटक पटक फोन गरी तिमिलाई जे चाहिन्छ त्यो म पुरा गर्छु तर आफुसँग सम्बन्ध राख भनी दबाब दिएको ति महिलाले बताइन ।

    पिडित महिलाले रुदै भनिन्, सिकेन्द्रले बलजबरजस्ती मेरो भाइसँग तिम्रो सम्बन्ध छ भनी ममाथी आरोप लगाए, भाइसँगको सम्बन्ध विच्छेद गरी मसँग सम्बन्ध कायम गर म तिमिलाई संसारको सारा सुख दिन्छु भनी दबाब दिएको र आफुले उनको कुरा नमान्दा घरमै आएर सिकेन्द्रले कुटपिट गरेको महिलाले बताइन । आफनो मोवाइलमा फोन नगर्न उसलाई पटक पटक आग्रह गर्दा पनि उसले फोन गरी विभिन्न किसिमको प्रलोभन दिएर आफुसँग अनैतिक सम्बन्ध राख्न दबाब दिएको पिडित महिलाले सुनाइन । पीडित महिलाले अघि भनिन्, ‘मैले पटक पटक उसलाई हप्काउँदै अस्वीकार गरे। फोन नगर्न आग्रह गर्दा उसले घरमै आएर कुट्छु, कसैले केहि गर्न सक्दैन भन्दै गएको शुक्रवार साँझ सिकेन्द्र र उसका भाइ जितेन्द्र यादव दुवै जना मिलेर घरमै आएर कुटपिट गरेको महिलाले बताइन । आफुसँग सम्बन्ध नराखे तिम्रो मेरो भाइसँगको फोटो र भिडियो सार्वजनिक गर्दिन्छु भनी सिकेन्द्रले धम्की समेत दिएको महिलाले बताइन ।

    कुटपिटपछि ती महिलाले न्याय माग्दै प्रहरीमा उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले घटनाको पुष्टि गर्दै आरोपितको खोजतलास तथा घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
    पिडित महिलाको तिनवटा सन्तान रहेको छ । श्रीमान वैदेशीक रोजगारीमा गएको मौका छोपेर खातुनलाई अबैध सम्बन्ध राख्न सिकेन्द्र यादवले दबाब दिएको बुझिएको छ । रौतहटमा पछिलो समय रोजगारीका लागि विदेश गएकाहरुको श्रीमतीलाई गाउँघरका केही गलत प्रवृतिका मानिसले गलत मनसायले हेर्ने गरेको देखिएको छ ।

    विदेश गएकाहरुको श्रीमतीसँग अबैध सम्बन्ध कायम राख्न प्रस्ताव गर्नेहरुको संख्या बढदैछन । परपुरुषले अर्काको श्रीमतीलाई अबैध सम्बन्ध कायम राख्न प्रस्ताव गर्ने गरेको र उक्त प्रस्ताव अस्वीकार गर्दा महिलालाई कुटपिट गर्ने, विभिन्न किसिमका डर त्रास देखाउने, हप्काउने, धम्की दिने जस्ता कार्यहरु यहाँ भइरहेको पाइएको छ ।
    अर्काको श्रीमतीमाथी गलत दृष्टिले हेर्ने र यौन प्रस्ताव राख्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइ काडा भन्दा कडा कार्यवाही गर्नुपर्दछ ।