• राजकुमार यादव

    रौतहट न्यूज़// गत वर्ष पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको मुल भट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पुजा गरेकी थिइन् । यस वर्ष पनि मौलापुर नगरपालिकाले शिवरात्रीको अवसरमा भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

    पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले फागुन २७ गते पर्ने महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको हो । पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना हुने उक्त मेलाको अवसरमा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुतिसमेत रहने र विना कुनै शुल्कको यस पालिको मेला लागने नि. प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाइएको छ ।

    ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्त्विक महादेव मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । फागुन २५ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुनेछ । सोही दिन दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे चिन्टुु लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

    साथै फागुन २५ गते देखि चैत्र महिनाको १ गते सम्म लगातार ६  रात्रि भारत वृन्दावनको मथुराको कलाकार द्वारा प्रसिद्ध रासलिला शिवलिला प्रदर्शन हुने जानकारी आयोजकले दिएको छ । आयोजकका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।

    मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । देशको थप नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको हो ।