• रौतहट न्यूज// प्रतिनिधिसभा बिघटन नभएको भए चुनाव हारेकाहरु मन्त्री बन्ने कुनै सम्भावना थिएन । प्रदेशसभाको चुनाव हारेका दावा लामा मन्त्री बन्ने थिएनन् । तर, प्रतिनिधिसभा बिघटनसँगै नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको फाइदा कतिपय नेताहरुलाई मिलेको छ ।

    नेकपा विभाजनको फाइदा माधवकुमार नेपाललाई पनि पुगेको छ । नेकपा एक हुँदा पार्टीको वरियतामा चौंथो स्थानमा रहेका उनी विभाजनसँगै अध्यक्ष भएका छन् ।
    नेकपा विभाजनको फाइदा लिनेमा मणिचन्द्र थापा पनि हुन् । उनी ओली समूहमा पुगेर खानेपानीमन्त्री बनाइएका छन् । दावा लामा रामबहादुर थापा बादल पक्षधरबाट मन्त्री बने । यो उनका लागि सायद अनपेक्षित नै थियो ।

    टोपबहादुर रायमाझीले ऊर्जामन्त्री बन्ने मौका पाए । प्रभु साह शहरी विकास मन्त्री बनाइए । गौरीशंकर चौधरी पनि श्रममन्त्री बनाइए । यी सबै पूर्व माओवादीका थिए ।
    जुलीकुमारी महतोले पनि मन्त्री बन्ने मौका पाइन् । गणेशसिंह ठगुन्ना र प्रेमबहादुर आलेलाई पनि नेकपा विभाजनले मन्त्री बन्ने मौका मिल्यो ।

    नेकपा विभाजनपछि राजनीतिक लाभ लिने सम्भावना बोकेकाहरुमा भीम रावल, सुरेन्द्र पाण्डे र जर्नादन शर्मालगायतका नेताहरु पनि छन् । उनीहरु नेकपा प्रचण्ड समूहको महासचिव बन्ने दौडमा छन् । भविष्यमा सचिवालयमा लगिने सम्भावना समेत बोकेका छन् । वर्षमान पुन पनि सचिवालयमा पुग्ने सम्भावना बोकेका नेता हुन् ।