• ०७ माघ २०७७
  • (Wednesday 20 January, 2021)
    5
    Shares

    रौतहट न्यूज// जाडो महिनामा तराईको समतल क्षेत्रमा हुस्सु लाग्नु तथा शीतलहर चल्नु सामान्य हो । गर्मीमा तातो हावा चल्ने र जाडो महिनामा निकै चिसो हुने भएका कारण तराई क्षेत्रमा मौसमजन्य प्रतिकूलतासँग जुध्न सावधानी अपनाउनुपर्ने हुन्छ । ग्रीष्मकालमा थार मरुभूमिबाट आउने तातो हावाका कारण नेपालको तराई क्षेत्रमा तापक्रम निकै बढी भएर लु लाग्छ भने जाडोमा उत्तर-पश्चिम दिशाबाट हिमालयलाई छोएर आउने चिसो हावाका कारण शीतलहर चल्छ । अत्यन्तै कम तापक्रम भएको बेला जमिनको सतहसँगै रहेको हावा चिसो भएर कुहिरोमा परिणत हुने र पानीका स-साना थोपासहितको कुहिरोलाई उत्तर-पश्चिम दिशाबाट आउने चिसो हावाले बगाएपछि शीत लहर चल्छ । लगभग जम्ने अवस्थामा पुगेको पानीका साना कण मिसिएको चिसो हावा बिस्तारै बहने प्रक्रिया नै शीतलहर हो । न्यूनतम तापक्रम निकै कम भएको र मौसम सफा रहेको बेलामा तराईको समतल क्षेत्रमा शीतलहर चल्छ ।
    शीतलहरका असर
    शीतलहर तापक्रम अत्यन्तै कम हुनुको प्रतिफल हो । त्यसकारण यसले मानिसलगायत अन्य जीवजन्तुको शरीरमा हुने नियमित जैव रसायनिक प्रक्रियामा खलल पुर्‍याउँछ । शीतलहरका कारण मानिसको शरीरको तापक्रम तल र्झछ अर्थात् हाइपोथर्मिया हुन्छ । मानिस तातो रगत भएको जीव भए पनि वातावरणमा हुने तापक्रमको अत्यधिक घटबडलाई सन्तुलित गर्न शरीर असमर्थ हुन्छ, जसका कारण रगतको तापक्रम तल झरेर कोषलाई जीवित राख्न हुने नियमित प्रक्रिया पनि बन्द हुन्छ । यसले रगतको प्रवाह रोकिने, विभिन्न प्रोटिनजन्य पदार्थ स्नायुभित्रै जम्ने जस्ता कारणले मुटु, फोक्सो एवं मस्तिष्कजस्ता संवेदनशील अङ्गले काम गर्न छाडी ज्यानैसमेत जानसक्छ । अत्यधिक चिसोमा शरीरमा रक्तप्रवाह असन्तुलित हुन्छ भनेे अक्सिजनको मात्रा कम र कार्बन डाइअक्साइडको मात्रा बढी भएर रगत विषाक्त बन्छ । मानिसको शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस भए पनि ३० डिग्रीभन्दा कम भए त्यो खतरनाक हुन्छ । मानव शरीरको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम भयो भने मस्तिष्कलगायतका अंगले काम गर्न छाडेर ज्यान समेत जान्छ । शरीरको तापक्रम २८ डिग्री सेल्सियस वा ८२ डिग्री फरेनहाइटभन्दा तल झरेपछि नै मुटुको काम अनियमित हुन्छ ।

    जन हितमा जारी संदेश- ईशनाथ नगरपालिका प्रदेश नं २ रौतहट

    हाइपोथर्मियाका लक्षण
    तापक्रम घट्दै जाँदा शरीरको सक्रियता पनि घट्दै जान्छ । सुरुमा चिसोका कारण शरीर कठ्यांगि्रने र बाउँडिने भै मानसिक अवस्थामा समेत असर पुग्छ । चिसो बढ्दै जाँदा अचेत हुने, शरीरका भित्री अंगले काम गर्न छाड्ने अनि अन्त्यमा बिरामीको मृत्युसम्म हुनसक्छ । चिसो लागेको लक्षण निम्न हुनसक्छ :
    –    सुरुमा भोक बढ्ने र वाकवाकी लाग्ने हुन्छ र क्रमश: खाने रुचि घट्दै जान्छ र मुटुको चाल बढ्छ ।
    –    द्विविधा हुने, सोच्ने र सम्झिने क्षमता गुम्ने, बोली लरबरिने, थकान महसुस हुने र अचेत हुने । मुटुको चाल घट्ने एवं अनियमित हुने ।
    –    चिसो बढ्दै जाँदा शरीरको तापक्रम निकै तल झर्ने र बिरामी बेहोस भएर मृत्यु हुने ।
    के गर्ने ?
    –    चिसो लागेर बिरामी परेको मानिसलाई प्राथमिक उपचार गर्न थालिहाल्नुपर्छ । उसलाई चिसो कोठाभित्रको न्यानो वातावरणमा ल्याउने, लगाइरहेको चिसो कपडा फुकालेर पूरै शरीरमा न्यानो कपडा लगाइदिने ।
    –    श्वासप्रश्वास र मुटुको गति अनियमित देखिए कृत्रिम श्वासप्रश्वास दिने ।
    –    छाती, घाँटी , कम्मर, पेट आदि शरीरका भागमा हट वाटर ब्यागले सेक्ने तर सीधै आगोमा भने सेक्नु हुँदैन ।
    –    तातो तथा झोल खानेकुरा दिनु उपयक्त हुन्छ ।
    शीतलहर चलेका बेला के गर्नु हुँदैन ?
    शीतलहर चलेका बेला वा निकै जाडो भएको बेला सडकमा आगो तापेर बस्ने चलन धेरैको हुन्छ तर शीतलहर चलेका बेला आगो तापेर बस्नु हानिकारक हुन्छ । शीतलहर चलेको बेला हावामा पानीको बाफको मात्रा धेरै हुने र अक्सिजन कम हुने भएकाले आगो ताप्ोर बस्नु हानिकारक हुने विज्ञहरू बताउँछन् । यस्तो समयमा आगो तापेर बस्दा निसास्सिने र रगतमा अक्सिजन कम भएर मानिसको ज्यानै जाने सम्भावना हुन्छ । त्यस्तै शरीर तातो बनाउने भन्दै धूमपान र मद्यपान गर्नु पनि हानिकारक हुन्छ ।
    जोगिने उपाय
    बूढाबूढी, सुत्केरी तथा बालबालिकाहरूमा चिसोले बढी असर पुर्‍याउँछ । त्यसैले चिसोको जोखिममा रहेका यस्ता उमेर समूहका मानिसले बढी ख्याल गर्नुपर्ने हुन्छ । जाडोमा जथाभावी घरबाहिर ननिस्कने, शिशुको राम्रोसँग हेरचाह गरेर न्यानो पारी राख्ने, न्याना कपडा लगाएर घरभित्रै बस्ने, घरलाई न्यानो राख्ने, धूमपान एवं मद्यपान नगर्ने तथा तातो खानेकुरा र झोल पदार्थ खाए ज्यानै जाने खतरा टर्नसक्छ । चिसोले तत्काल मृत्युको मुखमा पुर्‍याउने मात्र होइन निमोनियालगायतका श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाएर दीर्घकालीन असर पनि पुर्‍याउन सक्छ ।