• रौतहट न्यूज़// सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेसँगै नेकपाभित्र अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपले लिखित रुप ग्रहण गरेको छ ।

    गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठकोे ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोगपत्र’ पेस गरेको आरोप लगाउँदै ‘काउन्टर’मा ओलीले ३८ पृष्ठको जवाफ दिएपछि नेकपाभित्र दुई खेमाबीचको विवाद थप चुलिने देखिएको छ ।

    नेकपाभित्र अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेस गरेसँगै ओलीपक्षबाट एकलौटी आरोपको पुलिन्दाको संज्ञा दिँदै फिर्ता लिनुपर्ने मागबीच अन्ततः शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबाट जवाफी प्रस्ताव पेस भएको हो ।

    यसअघि, ओलीबाट सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा गनुपर्ने आशयसहित लेखिएको दाहालको प्रस्तावको जवाफमा अध्यक्ष ओलीले दाहाललाई महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रेर विजयी हुन चुनौती दिनुभएको छ ।

    नेकपा सचिवालय बैठकमा बहुमतको हाँक दिँदै दाहालले आफूलाई दबाब बढाएको उल्लेख गर्दै ओलीले महाधिवेशनको चुनावी प्रतिस्पर्धामा उत्रन चुनौती दिनुभएको हो । दाहालले सचिवालयका बहुमत सदस्यको मागको सम्बोधन नगरेको आरोप लगाउँदै अबका बैठक र महाधिवेशनसम्म बहुमत र अल्पमतमा जाने हो भने आफू त्यसका लागि तयार रहेको पनि ओलीले पत्रमा जवाफ दिनुभएको छ ।

    अघिल्लो बैठकमा प्रस्तुत गरेको पत्रको जवाफ दिनेक्रममा ओलीले दाहालको ‘प्रस्ताव’ कुनै राजनीतिक प्रतिवेदन नभइ आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ भएकाले यसलाई अगाडि सारेर दाहालले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको आक्षेप लगाउनुभएको हो । अध्यक्षद्वयका आरोप–प्रत्यारोपले अन्ततः पार्टी एकता नै समाप्त भएको राजनीतिक विश्लेषक मुमाराम खनालको टिप्पणी छ ।

    त्यसो त दाहालको प्रस्ताव पार्टी एकीकरणअगाडि र त्यसक्रममा भएका समझदारी र सोचविपरीत भएको, आमनिर्वाचनका क्रममा जनतामाझ गरिएका संकल्पको विपरीत भएको तथा पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरण घोषणाको भावना तथा प्रावधानविपरीत भएको ओलीको आरोप छ ।

    दाहालले लगाएका आरोपको पुष्टि भए राज्यको कानुन र पार्टीको विधानअनुसार कारबाहीको भागीदार बन्ने भएकाले तिनलाई पुष्टि गर्न ओलीले चुनौतीसमेत दिनुभएको छ । त्यतिमात्र नभइ आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेहीता लिन पनि ओलीले दाहाललाई ठाडो चुनौती दिनुभएको छ ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने उठेका विवादहरु पार्टीका कमिटीबाटै छलफल गराएर निष्कर्षमा पुगिने बताउनुहुन्छ । सचिवालय बैठकमा दाहालले प्रस्तुत गरेको प्रस्ताव पार्टीको राजनीतिक प्रतिवेदनका रुपमा तल्लो कमिटी तहसम्म वितरण भइसकेको छ भने ओलीको प्रतिवेदन पनि पार्टीपंक्तिमा बाँडिनेक्रम चलेको छ ।

    बैठकबाट आएको निष्कर्षमार्फत् साझा प्रतिवेदनलाई ‘सर्कुलेट’ गरिनुपर्नेमा अध्यक्षद्वयका भिन्ना–भिन्नै प्रतिवेदन पार्टीपंक्तिमा बाँडिनुले भने एकातिर साझा प्रतिवेदन आउनेप्रति संशय पैदा भएको छ भने अर्कातिर नेताहरुका छुट्टा–छुट्टै प्रस्ताव महाधिवेशनको प्रारम्भविन्दु भएको नेताहरुले टिप्पणी गर्न थालेका छन् ।