•  १ भाद्र रौतहट न्यूज //आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो ।पार्टी केन्द्रीय समितिको आगामी बैठकले महाधिवेशन २०७८ भदौमा सार्ने निर्णय गर्ने एक पदाधिकारीले बताए ।

    ‘कोरोना भाइरस संक्रमण बढ्दै गएमा भदौमा पनि महाधिवेशन गर्न कठिन हुन सक्छ,’ ती पदाधिकारीले भने, ‘अहिलेको अवस्थामा भदौभन्दा पहिला महाधिवेशन सम्भव छैन ।’पार्टी विधानको व्यवस्थाअनुसार फागुनमै महाधिवेशन गर्नुपर्ने भए पनि संवैधानिक व्यवस्थाअनुसार थप ६ महिना समय लिन सकिने प्रस्ट्याउँदै ती पदाधिकारीले थपे, ‘यसअघि पनि सोही व्यवस्थाका आधारमा १३औं महाधिवेशन साढे पाँच वर्षमा भएको थियो ।

    अहिले कोरोना भाइरसको जोखिमका कारण फेरि त्यही अवस्था आउने देखिएको छ ।’ती पदाधिकारीका अनुसार कोरोना भाइरस संक्रमणको समयलाई शून्य समय मान्ने हो भने महाधिवेशन गर्न थप अरू पाँच महिना नेतृत्वले लिनसक्छ । ‘रोग बढाएर महाधिवेशन गर्ने भन्ने कुरा भएन । जोखिम कम भएपछि महाधिवेशन हुन्छ’, ती पदाधिकारीले भने । साउन २२ गते बसेको पदाधिकारी बैठकमै नेताहरूले १४औं महाधिवेशन जेठ वा भदौमा सार्ने प्रस्ताव गरेका थिए । ‘महाधिवेशन सारेको दोष लाग्ने भएकाले नेताहरू तैं चुप मै चुप बनका हुन्’, ती पदाधिकारीको भनाइ छ ।  

    विधान अनुसार वर्तमान केन्द्रिय कार्य समितिको चार वर्षको कार्यकाल गत फागुनमै सकिएको छ । कार्य समितिले विधानको अतिरिक्त सुविधा उपयोग गर्दै एक वर्ष कार्यकाल थपेको हो । गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले थपिएको एक वर्षभित्रै हुनेगरी २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही बैठकले महाधिवेशन कार्यतालिका तय गरेको थियो । तर आन्तरिक विवाद र कोरोना भाइरस संक्रमणका कारण कार्यतालिका पटकपटक प्रभावित बनेको छ । संशोधित कार्यतालिका अनुसार पनि काम हुन सकेको छैन ।  स्रोत-नागरिक