• रौतहट न्यूज रौतहटको गरुडा नगरपालिका ८ जीगडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका १९ वर्षीय विजय महराको मृत्यु भएको हो। नेपाल कम्युनिष्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा  सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्याराबारे छानबिन गरी दोषी प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । सांसद साहले सोधपुछको नाममा प्रहरीले यातना दिएर अभियुक्तको ज्यान लिइएको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गर्न र कारवाही गर्न माग गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद साहले आर्थिक प्रलोभनमा परी प्रहरीले अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई यातना दिएर मार्ने प्रवृत्तिले झन् अपराधलाई बढावा दिएको गम्भीर आरोप लगाएका छन् । उनले नेपाल प्रहरीले प्रहरीभित्र रहेका अपराधिक प्रवृतिलाई समयमै नियन्त्रण गरी आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउनुपर्ने माग राखेका छन् । गत साउन ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाका दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घाँटी रेटी हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले सात जनालाई थुनामा राखेको थियो ।

    जसमध्ये विजयराम चमार अस्वस्थ भएपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज उपचारको लागि पठाइएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोटपटक लागेकोले किड्नीमा समस्या आएर मृत्यु भएको सांसद साहको दाबी छ  । उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले भने चमारको प्रहरीको यातनाबाट नभइ दुवै किड्नीले काम गर्न छोडेपछि मृत्यु भएको दाबी गरेका छन् ।

    साहले फेसबुकमा लेखेका छन्, ‘पक्राउ अभियुक्तहरु मध्येका एक विजय महरा (चमार) को हिजो राती उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हिरासतमा रहेको बेला निरन्तर चरम यातना दिएर एक दलित युवालाई मृत्युवरण गराउनु गम्भीर अपराध मात्र होइन, एउटा अमानवीय कार्य पनि हो ।

    यो दण्डनीय अपराधमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी आवश्यक कारवाही अगाडि बढाउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’