• रौतहट न्यूज़/ प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड र माधव नेपाल समुहका नेता र कार्यकर्ताले आज रौतहटको विभिन्न स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । रौतहटको सदरमुकाम गौर, गरूडा नगरपालिका र मौलापुर नगरपालिकामा प्रदर्शन गरेका छन् ।

    नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको आरोप लगाउनुभएको छ ।

    उहाँहरुले लेख्नुभएको छ, ‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ ।’

    प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धी समाप्त हुने दिशातर्फ अघि बढेको भन्दै दाहाल–नेपालले संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक सडकमा उत्रन अपील गर्नुभएको हो ।