• राजकुमार यादव

    रौतहटको देवाही गोनही नगरपालिकाले एक कार्यक्रम आयोजना गरी नवौ नगरसभाको आठौं बजेट अधिवेशन सम्पन्न गरेको छ ।

    नगर प्रमुख एवम नगर सभाका अध्यक्ष प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको शुभारम्भ मधेश प्रदेशका अर्थमन्त्री सुनिल यादवको प्रमुख अथितिमा उक्त नगर सभा सम्पन्न भएको हो । कार्यक्रमलाई मन्त्री यादवले दिप प्रज्वलित गरेर शुभारम्भ गरेको थियो । राष्ट्रिय गान गाएर सम्मान प्रकट गरिएको शुभारम्भ समारोहमा ज्ञात अज्ञात सहिदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

    स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगरसभा तथा गाउँसभा सम्पन्न भइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यस पालिकामा आन्तरिक विवादका कारण सावन ५ शनिबार सम्पन्न नगर सभा भब्यका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले देवही गोनाही नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५६ करोड २४ लाख २५ हजार ८ सय सतासी रुपैया अनुमानित बजेट प्रस्तुत गरेको छ ।

    नगर प्रमुख साहले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूलाई विशेष प्राथमिकता दिएको जानकारी दिए। प्रस्तुत बजेटमा शिक्षाका लागि विद्यालय भवनहरूको निर्माण तथा पुनर्निर्माण, शैक्षिक सामग्रीको व्यवस्था र डिजिटल शिक्षा प्रवर्द्धनका लागि विशेष बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रका लागि नयाँ स्वास्थ्य चौकीहरूको स्थापना, मौजुदा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा निःशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिने योजना समावेश गरिएको छ। पूर्वाधार विकासका लागि सडक, पुल तथा खानेपानी आयोजनामा विशेष ध्यान दिइएको छ। नगरपालिकाले दुरदराजका क्षेत्रहरूमा आवागमन सहज बनाउन नयाँ सडक निर्माण तथा पुराना सडकहरूको मर्मत सम्भार गर्ने योजना प्रस्तुत गरेको छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन विभिन्न योजनाहरू अघि सारिएको छ।

    कृषि क्षेत्रको प्रवर्द्धनका लागि सिँचाइ सुविधा, कृषि उपकरणहरू, तथा कृषकहरूलाई तालिम प्रदान गर्ने कार्यक्रमहरूमा बजेट छुट्याइएको छ। पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू प्रस्तुत गरिएको छ। समाज कल्याणका क्षेत्रमा वृद्धवृद्धा, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि विभिन्न योजना समावेश गरिएको छ।

    नगर प्रमुखले बजेटको सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न नागरिक सहभागितालाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नगरपालिकाका सम्पूर्ण नागरिकहरूलाई सहकार्य गर्न आह्वान गर्दै नगरको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।


    नगर सभाका सदस्यहरूले आ(आफ्ना विचार तथा सुझाव प्रस्तुत गरे। अधिकांश सदस्यहरूले प्रस्तुत बजेट तथा कार्यक्रमलाई सराहना गर्दै यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए। केही सदस्यहरूले भने केही क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।


    नगर सभाको समापनमा नगर उपप्रमुख परनिया देवी पटेलले आगामी वर्षको लागि निर्धारित लक्ष्यहरू प्राप्त गर्न सबैको सहभागिता र समर्पण आवश्यक रहेकोमा जोड दिए। सभाको समापन गर्दै, नगर उपप्रमुखले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नगरको समृद्धिका लागि सबैले आफ्नो भूमिका निभाउन आग्रह समेत गरिन् ।