• राजकुमार यादव

    रौतहट न्यूज़// नेपालका पूर्व प्रधान न्यायधीश सुरेन्द्रप्रसाद सिंहको असामयिक निधनमा शोक मनाउन फागुन २० गते विहिबार एकदिन नेपालभरका सर्वोच्च अदालत,उच्च अदालत,जिल्ला अदालत,विशेष अदालत एंव अन्य अदालत र न्यायधीकरणहरू शोक विदाको रूपमा बन्द रहने आज बुधबार बसको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको छ।

    सर्वोच्च अदालतका प्रेस विज्ञप्तीका अनुसार नेपालका पूर्व प्रधान न्यायधीश सुरेन्द्रप्रसाद सिंहको मिति २०७७ साल फागुन १८ गते मंगलबार साँझ ०७:३० बजे भएको असामयिक निधनबाट हामी अत्यन्त मर्माहत भएको छौं। पूर्व प्रधान न्यायधीश सिंहको असामयिक निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ। सर्वोच्च अदालतको प्रधान न्यायधीशाको रूपमा सेवारत रहंदा उहाँले स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई स्थापित गर्न एवम् न्याय र कानुन कानुनका क्षेत्रको विकासको लागि पुर्याउनुभएको योगदान अतुलनीय रहेको छ। संविधान र कानुनको क्षेत्रमा दख्खल राख्ने निर्भिक,सरल अत्यन्त मिलनसार,विवेकशील,सहूदयी,मृदुभाषी, न्यायका मर्मज्ञ एवम् अनुभवी न्यायिक व्याक्तित्वका रूपमा रहनुभएका स्वर्गीय सिंह न्याय र कानुनका क्षेत्रमा आदर्श व्याक्तित्व हुनुहुन्थ्यो  उहाँको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणादायी र मार्गदर्शक रहिरहने छ।

    सर्लाही जिल्लामा वि.सं. १९८८ साल फागुन ३ गते जन्मनु भएका पूर्व प्रधान न्यायधीश सिंहले २०१० सालदेखी सरकारी सेवामा अप्रिन्टिसको पदबाट सेवा प्रारम्भ गर्नुभएको थियो। उहाँ मिति २०५७/०६/१० मा नेपालको प्रधान न्यायधीश पदमा नियुक्त भई मिति २०५३/११/०३ सम्म कार्यरत रहनुभएको थियो।

    उहाँको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्याक्तित्वलाई गुमाएको छ। यस दुःखद् घड़ीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दछौँ।

    पूर्व प्रधान न्यायधीश सुरेन्द्रप्रसाद सिंहको असमायिक निधनमा शोक मनाउन यहि मिति २०७७ फागुन २० गते विहिबार एकदिन नेपालभरका सर्वोच्च अदालत,उच्च अदालत,जिल्ला अदालत , विशेष अदालत एंव अन्य अदालत र न्यायधीकरणहरू शोक विदाको रूपमा बन्द रहने भनी सर्वोच्च अदालतको मिति २०७७/११/१९ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको बेहोरोसमेत जनकारी गराइन्छ। सहप्रवक्ता देवेन्द्र ढकाल