• राजकुमार यादव

    रौतहट न्यूज़// रौतहटको दुर्गा भगवती गाउँपालिकाले दीपावली तथा छठ्ठ पर्वलाई लक्षित गरेर अहिले धमाधम सडक मर्मत तथा सरसफाइको काम गरिरहेको छ । वर्षामा आएको बागवतीबाढीले बिगारेको सडक र गोरेटो बाटो मर्मत गर्न सबै वडा कार्यालयहरु सक्रिय छन् ।

    सडक बिस्तारका लागि स्थानीय हरुलाई दुर्गा भगवती गाउँपालिकाले तीन पटक सुचना मार्फत जनकारी गराए पछि सड़क खालि गरी सहजी करण गर्नमा ढिलाई भएका कारण दुर्गा भगवती गाउँपलिकाका अध्यक्ष सम्भु सिंहले आफ्नो पालिकालाई विकासको नयाँ दिशा तर्फ लैजाने लक्ष्यका साथ आफैं कार्यपालिका सहीत अगाडि आएका छन् ।

    असोज महिनामा आएका लगतार तीन दिनको अबिरल बर्षाका कारण बगवती नदीमा आएको बाढीले दुर्गा भगवती गाउँपालिका सहित पाँच वटा पालिकामा ठूलो क्षति पुर्याएको थियो । सो अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति ग्रस्त सडकलाई छठ्ठपर्व अगावै आवतजावत सहज बनाउन भत्किएका सडक निर्माण गर्न ‘हामीले दीपावली तथा छठ्ठपर्व लक्षित गरेर खाल्डो पुर्ने, रुखहरु काँटछाँट गर्ने, आवश्यकता अनुसार रंगरोगन गर्ने काम गरिरहेका छौं,’ गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।

    हिन्दुहरुको महान् पर्वको बेला धेरै सवारी चाप हुने गरेकाले स्थानीय तहले सोहीअनुसार काम गर्नुपर्ने उनी बताउँछन् । उक्त सडक र गोरेटो बाटो मर्मत तथा सरसफाईका लागि अध्यक्ष सिंहले सुकदेव चौक देखी गंगा पिप्रा जाने सड़क खण्डमा जे.सि.बी. समेत लगाएका छन् ।

    रौतहटको दुर्गा भगवती गाउँपालिकाले मात्रै होइन गढीमाई नगरपालिका , राजपुर नगरपालिका , माधवनरायण नगरपालिकाले पनि बर्खाको समयमा बाढीले क्षति पुर्‍याएको सडक मर्मत कार्यलाई तीब्रता दिएको छ ।