• राजकुमार यादव

    लगतार तीन दिनको अरिवल वर्षाका कारण आएको बागमती नदीको बाढीबाट प्रभावित रौतहटको गढीमाई नगरपालिका-६ सिघारमनका पिडित परिवारलाई विहिबार राहत सामग्री वितरण गरिएको छ ।

    गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले सिघारमनका ६ सय बाढी पिडित परिवारलाई राहत प्रदान गर्ने भएको छ । आज दुई सय भन्दा बढी बाढीबाट प्रभावित घर परिवारलाई तत्कालका लागि आवश्यक खाद्य सामग्री सहयोगस्वरूप प्रदान गरेका हुन्। बाढीले क्षतिग्रस्त भएका घरपरिवारलाई प्रति परिवार २५ किलो चामल तथा २ किलोको दरले तोरीको तेल, नुन, चिनी, दाल, स्वाविन र चिउरा लगायतका सामग्री वितरण गरिएको छ। उक्त राहत सामग्री च्वाइस नेपालको सहयोग र गढीमाई नगरपालिकाको सहकार्यमा वितरण गरिएको हो। अब उपरान्त गढीमाई नगरपालिकाका वडा ३ र ७ का बाढीले प्रभावित परिवारलाई राहत वितरण गर्ने नगर प्रमुख यादवले बताउनुभयो ।

    बाढीका कारण नगरपालिकाका तीन वडामा ठूलो जनधनको क्षति पुगेको छ। हजारौं हेक्टर खेतबारीमा लगाइएको धान, उखु, र तरकारी बालीनाली बाढीले नष्ट गरेको हो । मेयर यादवका अनुसार राहत वितरणको दोस्रो चरणमा थप सहयोग उपलब्ध गराउने योजना बनाइरहेको छ।

    उक्त वितरण कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक किरण नेवपाने , वडा ६ का वडाध्यक्ष रामसिहासन यादव तथा वडासदस्य र नेपाल प्रहरी लगाएत विभिन्न दलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।