• रौतहट न्यूज़

    रौतहटको मौलापुर नगरपालिकामा महालेखाको अन्तिम लेखापरीक्षण प्रतिवेदन २०७९/२०८० का अनुसार ६० करोड ३५ लाख ४५ हजार रुपियाँ बेरुजु देखिएको छ ।

    मौलापुर नगपालिकामा विगत ४ वर्ष देखी निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामबाबु प्रसाद साह र लेखा प्रमुख जयप्रकाश महतो रहेका छन् । बेरुजु देख्नुको निम्न कारणा देखिएको छ । लेखा उत्तरदायी अधिकृत र जिम्मेवार अधिकृतले बेरुजु घटाउन उच्च प्राथमिकता दिन नसक्नु, सबै निकायले महालेखापरीक्षकले तोकेको ढाँचामा लेखा नराख्नु, जनताप्रतिको गैरजिम्मेवारीपन र मूल्य मान्यताको बेवास्ता र आर्थिक व्यवस्थापन गर्ने निकायकै खर्चमा मनोमानी गर्नुजस्ता कारणले गर्दा बेरुजु बढेको छ। अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोषलगायतको वित्तीय विवरण महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरेर तयार नगरेका कारण बेरुजु धेरै देखिएको हो।

    बेरुजु बढ्नुमा पेश्की धेरै लिने र समयमै नबुझाउनु कर्मचारीको खर्चमा अनियमितता हुनु, प्रक्रिया नपुर्‍याई खर्च गर्नु, लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिबाटै आर्थिक कार्यविधि ऐन, २०५५ र आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार निर्धारित कार्यविधि र प्रक्रिया नपुर्‍याई खर्च गर्नु, लेखापरीक्षण नगराउनु, लेखा उत्तरदायी अधिकृतबाट समयसमयमा नियमित अनुगमन एवं निरीक्षण नगर्नु, प्रचलित आर्थिक ऐन, नियम र प्रशासनिक निर्णयहरू अस्पष्ट र दोहोरो अर्थ लाग्ने हुनुलगायत छन्।


    नगरपालिकाको गतवर्षसम्म ५५ करोड १५ लाख ६५ हजार रुपियाँ बेरुजु बाँकी रहेको थियो। अहिले मौलापुर नगरपालिकामा हालसम्मको अद्यावधिक बेरुजु ६० करोड ३५ लाख ४५ हजार रुपियाँ रहेको छ।