• सतेन्द्र प्रताप सिंह

    रौतहट न्यूज़ // यमुनामाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका एक विशेष समारोह वीच घोषणा गरिएको छ। जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि अनिल कर्णले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन्।

    पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुधिर कुमार सिंहले बताए।

    स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ। सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकामा १२ वर्षभन्दा माथि उमेरका कोभिड विरुद्वको खोप २१ हजार ४ सय एक जनाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ।

    सोही तथ्याङ्कका आधारमा पालिकाका करिब ९४.८० प्रतिशत कोभिड विरुद्वको खोप पालिका घोषणाका लागि जिल्ला समन्वय समितिसमक्ष पेस गरिएको र स्वीकृत भई घोषणा गरिएको हो। पालिकामा पाँच वटा स्वास्थ्य चौकी र दुईवटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन्। साबिकका सरुआठा , राजपुर तुलसी , राजपुर भेरीयाही, जेष्ठरहीया र झुनखुनवा गरी पांच वटा गाविसहरू समेटेर यमुना गाउँपालिका बनेको हो। यस पालिकाभित्र हाल ५ वटा वडा छन्।

    उक्त कार्यक्रममा ५ वटा स्वास्थ्य चौकीका कार्यालय सहयोगीहरुलाई स्वास्थ्य संयोजक सिंहले साईकल वितरण गरेको । कार्यालय सहयोगी प्रमोद यादव, सुनिल यादव, तपेश्वर मुखिया, अखिलेश प्र अधिकारी तथा शमीकपुर यादवलाई साईकल प्रदान गरिएको छ। सो कार्यक्रम निमित प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादव , गापा अध्यक्ष सेख साउद , उपाध्यक्ष अनुराधा कुमारी लगाएतका उपस्थिति रहेको थियो ।