• -राजकुमार यादव

    रौतहट न्यूज़/ नेपालमा हरेक बर्षको भाद्र २२ गते मनाउदै आएको निजामती सेवा दिवस यस बर्ष मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरुले बहिष्कार गर्ने भएका छन्।

    संघिय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचनामा संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने , स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवासुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरूलाई निजामती परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरू बीच विभेद भएकोले निजामती सेवा दिवस मनाउन उपर्युक्त नठानी विरोध स्वारूप कालोपट्टी बाँधी विरोध जनाउने र स्थानीय कर्मचारीहरूको सेवासुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमाउने संयुक्त विज्ञप्ति पत्र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साह र नगर उपप्रमुख नागेन्द्र यादवलाई सो पालिकाका कर्मचारीहरुले बुझाएका हुन् ।

    देश संघीयतामा गएको वर्षौँ बित्दा पनि निजामती सेवा ऐन जारी नहुँदा जनताको सबैभन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कार्यरत कर्मचारी मर्कामा परेको तथा प्रशासनिक संघीयता नै धराशायी बनेको उनीहरुको ठहर छ। मौलापुर नगरपालिकामा कार्यरत स्थानिय सेवाका कर्मचारीहरुको संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै निजामती सेवा दिवस नमनाउने निर्णय गरेको निःप्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी दिनु भयो।

    निजामती सेवा दिवस नमाउने निर्णयका साथै उक्त ज्ञापन पत्र मार्फत विभिन्न मांग राख्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघिय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने,सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरूवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालिमा आधारित हुनुपर्ने,अन्तरप्रदेश सरूवाको व्यवस्था संघिय ऐनमा नै खुलाउनु पर्ने,प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने मांग सहित प्रस्तावित संघिय निजामती ऐनको मस्यौदामा देहायका व्यवस्था समावेश गर्नका लागि मांगहरु राखेका छन् ।

    निजामती दिवस  बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दै आएको हो ।