• – राजकुमार यादव

    रौतहट न्यूज/ न्यायको माग गर्दै आन्दोलनरत गौर हत्याकाण्डका पीडितहरु र नेपाल सरकार बीच आज मंगलबार ५ बुँदे सहमति भएको छ ।

    दुई पक्ष वीच भएको सम्झौतामा मिति २०६३ चैत्र ७ गतेको गौर घटनामा मृत्यु भई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६५ पौष ९ गतेको बैठकबाट शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने । तथा उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृतकहरुका हकमा शहीद घोषणाको प्रकृया अगाडी चढाउने, घटनाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानविन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कानून बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने, गौर घटनामा परी मृत्यु भएका व्यक्ति (शहीद) हरुको स्मृतिमा रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माण गर्ने कार्यको प्रक्रिया यसै आ.व.मा अगाडी बढाउने, उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने र ५ नम्बर बुँदामा सो घटनाको छानबिन र कारवाहीको माग सहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनको सबै कार्यक्रम तत्काल अन्त्य गर्ने समझौता पत्रमा उल्लेख गरिएको हो ।

    नेपाल सरकार, गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र गौर हत्याकाण्ड पीडित संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवी उपाध्याय बीच गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, श्रीकृष्ण पौडेल, प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा र आम जनता पार्टीका महासचिव उपेन्द्र साह ,रोकैया खातुनको रोहबरमा सो सहमती भएको छ ।