• - राजकुमार यादव

    रौतहट न्यूज़// प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

    काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । सो ५१ सदस्यीय केन्द्रीय समिति घोषणा सहित निम्नानुसार कार्यविभाजन गरिएको छ । जस अनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।

    त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।

    आम जनता पार्टीको जनवर्गीय संगठन तथा विभागहरुको पनि जिम्मेवारी तोकिएको छ । जसमा आईटी आर्मीको अध्यक्षमा चन्द्रभूषण साह र इन्चार्जमा प्रभु साह रहेका छन् । आम दलित मोर्चाको अध्यक्षमा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम रहेका छन् । आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुशवाह र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् । आम जनता पार्टीसँग एकता र सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली पनि बनाएको छ । जसमा उपेन्द्र साह, रामप्रित राम र इस्लाम हवारी रहेका छन् ।

    नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा प्रभु साहले एमालेमै रहेका थिए भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।