• राजकुमार यादव
    रौतहट न्यूज़// रौतहटको चर्चित कटहरिया बजारमा कौडी कर संकलन गर्ने कटहरिया नगरपालिकाको निर्णयको विरोध गर्दै वडाध्यक्ष चन्दन कुशवहाले कर संकलनमा रोक लगाउनुभएको छ ।

    कटहरिया नगरपालिकाको पूर्वमेयर सियाराम कुशवाहाले कोरोना कालदेखि बजारको ठेक्कापट्टा र बजारमा लाग्ने विभिन्न सम्रागी माथिको कौडी कर खारेज गर्नुभएको थियो । तर कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले बिना सूचना आठ लाखमा बजारको ठेक्का गरेपछि वडा नम्बर ४ का वडाध्यक्ष कुशवहाले विरोध गर्दै कर संकलनमा रोक लगाउनुभएको हो । वडा नम्बर ४ र ५ मा पर्ने कटहरिया बजारमा ठेकेदारको नाममा कसैलाई पनि कौडी नतिर्न वडाध्यक्ष कुशवहाले माइकिङ्क गरेर व्यापारी र सर्वसाधारणलाई सचेत गराउनुभएको हो ।

    बजार क्षेत्रमा आइतवार माइकिङ्ग गर्दै कुशवाहाले बजारमा आउने व्यापारीको सेवा सुविधा कटौति गरेर उल्टै नगर प्रमुख जयसवालले कर असुल्न थालेको भन्दै विरोध गर्नुभएको हो । वडा अध्यक्ष कुशवाहाका अनुसार नगरपालिकाले निर्धारण गरेको दररेट अनुसार बजारमा चप्पल, जुत्ताको सिलाइ गर्नेले वर्षको १९ हजार रुपैयासम्म तिर्नु पर्ने हुन्छ । त्यसैगरी बजारमा नाङ्गलोमा सामान राखेर बिक्री गर्न आएका सर्वसाधारण साना र गरिव व्यापारीले कौडी स्वरुप दैनिक चालिस रुपैयादेखि पचास रूपैयासम्म तिर्नुपर्ने हुन्छ ।

    कटहरिया नगरपालिकामा वार्षिक १५ करोड रुपैया बराबरको बजेट विनियोजन गरेको भए पनि नगरप्रमुख जयसवालले विकासको नाममा सर्वसाधारणमाथि अनावश्यक कर असुलेको भन्दै वडा अध्यक्ष कुशवाहाले असन्तुष्टी जनाउनुभएको हो ।