रौतहट न्यूज़//
कैलाली र कञ्चनपुर जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू गरिने भएको छ। दुबै जिल्लामा मंगलबार जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
कैलालीमा मंगलबार बसेको सर्वदलीय बैठकले कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउन सहमति दिएको थियो।
यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन निषेधाज्ञा मात्रै गर्ने निर्णय गरेको थियो।
‘भारतबाट आउनेलाई घर आउन रोक्न सकिँदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने, ‘अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते बिहान ६ बजेदेखि २२ गते बेलुका १२ बजेसम्म एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौँ।’
उनले मंगलबार एक सूचना जारी गर्दै उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने जनाएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहनेछन्। अत्यावश्यक सवारीसाधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।
खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन्। खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइनेछ।
सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहने छन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।
यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन्।
यसैगरी कञ्चनपुरमा पनि वैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी भएको छ। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिने बताए। उनले उक्त अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै बन्द रहने जनाएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द रहने उनले बताए।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,