• -राजकुमार यादव

    रौतहट न्यूज// महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा चौठो मधानी महायज्ञ आयोजना गरिने भएको छ ।

    नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन ५ गते विगतदेखी हुदै आएको मधानी महायज्ञ यस वर्ष पनि आयोजना गर्न लागेको उपप्रमुख नागेन्द्र राय यादवले बताए ।

    सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिने छ ।

    फागुन ५ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ । सोही दिन सम्मान्नीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट समुद्घाटन तथा  यज्ञ प्रारम्भ हुने छ भन्ने नेपाली सुपर स्टार भुवन केसी भोजपुरी सुप्रसिद्ध गायीका सुश्री इन्दु सोनालीको टिम द्वारा साँस्कृति प्रस्तुति सहित चर्चित कलाकारहरुको उपास्थिति रहने छ । त्यस्तै भोजपुरी सुपरस्टार अभिनेत्री काजल राघवानी, अभिनेता पवन सिंह लगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ । लगातार ३ दिनसम्म रात्रि शिव मण्डलीद्वारा शिवलिला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

    साहका अनुसार फागुन ७ गते नेपालका देवा थापा पहलमानहरु द्वारा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो । त्यस्तै मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् ।

    ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने बताउदै मेयर साहले विदेशी पर्यटकको लागि पनि उत्कृष्ट गन्तव्य निर्माणमा नगरपालिका लागिपरेको बताईन् । हजारौँ वर्ष पुरानो इतिहास रहेको प्रमाणसमेत भेटिएकोले सो मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले हरसम्भव प्रयास गरेको बताउदै मेयर साहले अब अन्य तहले समेत साथ दिनुपर्ने बताइन् ।