• रौतहट न्यूज़// विभिन्न माग राख्दै रौतहटका दलित समुदायले मंगलवार सदरमुकाम गौरमा शक्ति प्रदर्शन गरेका छन । सरकारले आफुहरुको अधुरो घर निर्माण कार्य पुरा गर्नुपर्ने लगाएत ८ बुन्दे माग गर्दै जिल्लाका दलित समुदायले गौरमा नारावाजी सहित विरोध प्रदर्शन गरेका छन ।

    गरिव दलितलाई सुरक्षित आवासको व्यवस्था, राज्यको हरेक निकायमा जनसंख्याको अनुपातमा दलितको आरक्षणको व्यवस्था, आवास निर्माणको रकम फ्रिज गराउनेलाई कार्यवाही हुनुपर्ने, आवास निर्माणमा भइरहेको अनियमितताको अविलम्ब छानविन हुनुपर्ने, कमिसनमा भुक्तानी रोक्नेलाई कार्यवाही गर्न एवं बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्ने, निर्माणधीन घरहरु छिटो पुरा गर्नुपर्ने र दलित युवालाई सीप तथा रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै दलित समुदाय आन्दोलन गरेका छन । आफुहरु माथी हुने सबैखाले अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीडन लगाएतका विभेद र भेदभाव अन्त्य हुनुपर्ने माग राख्दै उनिहरु प्रदर्शन गरेका छन ।गाउँ गाउँबाट टयाक्टरमा बसेर सदरमुकाम गौर गएका सयौ दलित समुदायका महिला पुरुषहरु नारा जुलुस लगाउँदै प्रदर्शन गरेका थिए ।

    जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकार मार्फत रौतहटका डोम, माझी, हलखोर र मेस्तर जातीको घर निर्माण कार्य भइरहेको छ । गत अषाढ मसान्त भित्रमै दलितको घर निर्माण गरिसक्नु पर्नेमा अहिलेसम्म पनि उनिहरुको घर निर्माण हुन सकेको छैन । समयमा घर निर्माण हुन नसक्दा दलित समुदायलाई अहिले समस्या भएको छ । घर निर्माणको जिम्मा पाएका व्यक्तिहरुले घर निर्माणको आधी काम मात्र गरेर बाँकी काम अलपत्र अवस्थामा छाडेका छन । घर निर्माणको काम पुरा नहुँदा अर्थात अधुरै रहेको कारण दलित समुदायलाई विजोग भएको छ ।

    नयाँ पक्की घर पाउने आशमा दलितहरु आ आफना फुसको छाना भएको घर भत्काइसकेका छन । पक्की घर पाउने आशमा आफना घर भत्काए पनि सरकारले पक्की घर निर्माणको कार्य पुरा नगरी अलपत्र अवस्थामै छाडेका कारण अहिले बस्न समस्या भएको दलित परिवारको गुनासो छ । सरकारले पक्की घर बनाइदिने नाममा आफुहरुलाई घरवार विहिन बनाएर अन्याय गरेको उनिहरुको दुखेसो छ ।विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै निवर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले जनता आवास कार्यक्रमका रौतहट संयोजक बाबुलाल साहको लापरवाही एवं उदासीन्ताका कारण जिल्लाका दलितहरुको समयमा घर निर्माण कार्य पुरा हुन नसकेको बताएका छन ।

    संयोजक बाबुलाल साहले घर निर्माण कार्य पुरा गराउन कुनै चासो नलिएको तथा तादरुक्ता नदेखाएका कारण दलितहरुको समयमा घर निर्माण हुन नसकेको निवर्तमान प्रदेश सांसद कुश्वाहाले बताए । घर निर्माण कार्य पुरा हुन नसक्दा घरको अभावमा दलितलाई अहिले बस्न निकै समस्या भइरहेको उनले बताए । दलितको माग स्थानीय प्रशासन र राज्यले तुरुन्त कार्यान्वयन नगरे कडाभन्दा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने उनले चेतावनी दिए ।