• विरेन्द्र साह

    रौतहट न्यूज़/ वि.स. २०७७ चैत १२ मा सरकारले पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरमा भएको एक कार्यक्रममा नेपाल पशुपक्षी तथा मत्स्य क्षेत्रको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नुभएको विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

    खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ ।
    यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ । यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी आर्यालले कृषिका सबै क्षेत्रमा आत्मनिर्भर भएको घोषणा चाँडै गर्ने बताएकी छिन्। बिहीबार कृषि तथा पशुपंक्षी मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि चौतर्फी सम्भावना भएको क्षेत्र भएको दाबी समेत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सोचले देश आत्मनिर्भरको अवस्थामा पुगेको दाबी गर्दै उनको नेतृत्वको सरकारले एकाएक फड्को मारेको दावी समेत गरिन् ।


    शहर बजारमा पशुपालनका ठूला–ठूला फर्म सञ्चालन भइरहेको बताउँदै उनले पाँच वर्षको स्थिर सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन लागेको दाबी समेत गरिन् । ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा’ नामका कार्यक्रममा बोल्दै उनले अबको पाँच वर्षभित्र कृषिका धेरै वस्तुमा आत्मनिर्भर मात्र होइन ठूलो मात्रामा निर्यात गर्ने समेत दाबी गरिन् ।

    मन्त्री अर्यालले कृषि प्रयोगशाला स्थापना गरि कृषिलाई आकर्षित गर्ने गरी आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम ल्याउन लागेको जानकारी गराउँदै एकीकृत शिक्षाको सुरुवात गर्ने समेत बताइन्। मन्त्री आर्यालले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने तयारी भैरहेको बताउँदै देशका किसान मर्कामा नपरुन भनि सचेत रहेको समेत बताइन्। कृषिको प्रथामिकता क्षेत्र तोकेर वैदेशिक लगानी भित्र्याउने उनको भनाई थियो ।

    उनले अर्को एक प्रसंगमा अलिकति राजनीतिक परिवर्तन भयो कि कर्मचारीको मनोविज्ञानमा परिवर्तन हुने गरेको बताउँदै उनले कर्मचारी भएर मात्र देशका लागि नसोच्न आग्रह गरिन् । मन्त्री अर्यालले सबै कर्मचारीलाई जागिरे मानसिकताबाट माथि उठ्न समेत आग्रह गरिन् ।