• रौतहट न्यूज// प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यकारी अध्यक्ष दाहालले पार्टी सञ्चालनमा असक्षमता प्रदर्शन गरेको, पार्टीमा ध्यान नदिएको भन्दै बैठकले कार्यकारी अध्यक्षको अधिकार बदर गरेको हो ।

    यस्तै, बैठकले आजै पार्टीको विधान संशोधन गरी बैठकका निर्णयहरूमा प्रथम अध्यक्ष ओलीको मात्र हस्ताक्षर चल्ने गरी विधानलाई निर्वाचन आयोगमा दर्ता गरेको छ । बैठकले सातवटै प्रदेशमा नेताहरूलाई पार्टी समन्वय गर्ने जिम्मेवारीसहित संयोजक तोकेको छ ।

    बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टराईलाई संयोजक ताेकेकाे छ ।

    यसअघि दाहाल र नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट बर्खास्त गरेर अध्यक्षमा नेता माधवकुमार नेपाललाई चयन गरेको थियो ।

    प्रचण्ड ग्रुपका ५ मन्त्री ओलीको उपहार

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।

    प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् ।

    रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, शाहलाई शहरी विकास र तामाङलाई युवा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    संसद विघटन र मध्यावधि निर्वाचन घोषणासँगै प्रचण्ड–माधव नेपाल समूहबाट ओली सरकारमा रहेका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेका पदमा ओलीले प्रचण्ड निकट नेताहरुलाई मन्त्री बनाएका हुन् ।

    नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ ।

    (*यसअघि विमला विकको नाम पनि प्रचण्ड समूहबाट बाहिरिएका नेताको सूचीमा पर्न गएकोमा सच्याइएको छ)