• रौतहत न्यूज़// शुभकामना आदान प्रदान तथा जनचेतना कार्यक्रमका प्रमुख अथिति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले नेपाली कांग्रेसले समाजलाई बिसौँ शताब्दीमा लैजान खोजेको टिप्पणी गरेका छन् ।

    आज रौतहटको इशनाथ नगरपालिका-४, मोतिया बजारमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले पुरानै एजेन्डा, पुरानै विचार र पुरानै शैलीको कांग्रेसले बाबा आदमको जमानामा देशलाई लैजान खोजेको बताए ।

    “आज कांग्रेससंग के एजेन्डा छ ? समाजलाई अगाडि बढाउन कांग्रेसको नीति के छ ? हामी जान्न चाहन्छौं । आज तपाईं हेर्न सक्नुहुन्छ कांग्रेससंग समाजलाई दिनका लागि केही छैन । कांग्रेस उहीँ बिसौँ शताब्दीको बिचार र एजेन्डा लिएर एकाइसौं शताब्दीमा समाजलाई दिशा दिन खोजेको छ । ” साहले भने, “यदी होइन भने कांग्रेस किन पुनः राजतन्त्रको बारेमा बहस गर्दैछ । किन धर्म निरपेक्षतामाथि प्रश्न उठाउदैछ । किन संघीयता खारेज गर्ने बारे बहस गर्दैछ । यी सबै एकाइसौँ शताब्दीको नेपाली जनताले ल्याएको बदलाव हो । तर कांग्रेस त्यही एकात्मक शासनको समयको कुरा गरेर गणतन्त्रको अपमान गर्दैछ । त्यसैले म भन्न चाहन्छु कि कांग्रेस डाइनासोर हो जसको वास्तविक अस्तित्व छैन, अवशेष मात्र बाँकी छ ।”

    नेता साहले कांग्रेस डेट एक्सपायड भइसकेको बताए । कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेल, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता, नेकपा नगर अध्यक्ष मोहन मेहता लगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।