• ०६ कार्तिक २०७७
  • (Thursday 22 October, 2020)

    काठमाडौं : राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको प्रतिष्ठा गिराउने काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। पद तथा गोपनियताको सपथ ग्रहणपछि गौतमले आफू यसको गरिमा बढाउनका लागि राष्ट्रिय सभामा आएको बताए।

    ‘म राष्ट्रिय सभामा यसको गरिमा बढाउनको निम्ति नेपालको संविधान बमोजिम, राष्ट्रिय सभाको नियमावलीबमोजिम मैले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नका निम्ति आएको छु। मैले यो सभाको सदस्य रहँदासम्म कहिल्यै पनि राष्ट्रिय सभाको गरिमा र यसको प्रतिष्ठा गिराउने गरी कुनै क्रियाकलाप गर्ने छैन,’ उनले भने।

    गौतमले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताए।

    उनले नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको उल्लेख गर्दै त्यसका लागि आफूले गर्न सक्ने भूमिका निर्वाह गर्ने पनि बताए।

    अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ ग्रहण गरेपछि मन्तव्य राख्दै गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी, प्रधानमन्त्री र राष्ट्रपतिलाई आभार व्यक्त गरे।

    उनले राष्ट्रिय सभाको अध्यक्षलाई कुनै बेला आफूले पार्टी सदस्यता प्रदान गरेको व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष भएकोमा आफ्नो छाती ठूलो भएको बताए।