• रौतहट न्यूज// जिल्ला रौतहटको गरुडा हत्याकाण्डसंग जोडिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन ।इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको मृत्यु भएपछि अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नबिन कुमार सिंह, प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मुन्ना कुमार सिंह निलम्बनमा परेका हुन् ।

    हिरासतमा रहेका महराको अनुसन्धानमा खटिएका उनीहरुलाई गृह मन्त्रालयको सचिबस्तरीय बैठकबाट ६ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबिराज खडकाले जानकारी दिएका छन् ।प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका वडा नं. ८ जिगडियाको १९ बर्षीय महराको गत भदौ १० गते उपचारको क्रममा बिरगंजस्थित नेशनल मेडिकल कजेलमा मृत्यु भएको थियो ।

    गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया निबासी २० वर्षीय निरन्जन पासवानलाई घाँटी रेटी हत्या गरेको आरोपमा बिजय महरासहित ७ जनालाइ पक्राउ गरेको थियो ।प्रहरी निरिक्षक सिंहलाई प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) बमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको एसपी खडकाले जानकारी दिए । यस्तै प्रहरी हवल्दारद्वय मियाँ धुनिया र सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको भदौ १५ पत्रबाट ६ महिनाको लागि निलम्बन गरिएको एसपी खडकाले जानकारी दिएका छन् ।

    केही दिन अघि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् । घटनाको उचित छानबिनको माग गदै पीडित परिवारलाई न्यायको माग गदै गरुडामा दैनिक स्थानियले प्रर्दशन गर्दै आएका छन् । यता गृह मन्त्रालयको मन्त्री स्तरको बैठकबाट इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका उपसचिब डोलेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।