• रौतहट न्यूज//नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम बढेकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । शुक्रबार ५ जनाको मृत्यु भएको छ । पर्साका ३ जना, सर्लाही र सिरहाका १/१ जना जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । आज ४६४ जना थपिएका छन् । शुक्रबार ७ हजार ९२६ जनाको पिसिआर परिक्षण गरिएको छ ।यस्तै निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेको छ । शुक्रबार ४२५ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा शुक्रवार मात्रै १०६ जना संक्रमित थपिएका छन् । यो एकैदिन फेला परेको अहिले सम्मकै धेरै संक्रमित हो । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । काठमाडौंमा मात्रै ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना पुगेको छ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ ।

    अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ ।पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शैया भरिएर थप १२ शैया पनि सङ्क्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उनले जानकारी दिए ।यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शैया अभाव हुन थालेको छ । कूल ५० शैयामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

    अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा संक्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटर मध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ ।अस्पतालका निर्देशक डा राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि अब लक्षण भएका संक्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताए । उनले लक्षण नभएका संक्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताए । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउने जस्ता लक्षण भएका संक्रमित देखिन थालेका छन् ।अस्पतालमा भर्ना भएका ३३ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएका छन् ।

    यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको बताए । उनका अनुसार वीरमा अहिले १५ संक्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ ।मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम बढेपछि संक्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् ।

    आ-आफ्ना क्षेत्रमा देखिएको संकट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय गर्दै कोभिड–१९ विरुद्ध सक्रिय भएका हुन् ।गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आजसम्म १८ जिल्लाले यस्तो निर्णय गरेर कार्यान्वयन थालेका हुन् । मुलुकका धेरै स्थानीय तहले पनि आवश्यक निर्णय गर्दै कार्यान्वयन गरिरहेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आर.सी यादवलाई जनकारी दिए।

    जिल्लामा फरकफरक निर्णय भएको छ, कतै सेवा मात्रै व्यवस्थापन गर्ने निर्णय भएको छ, कतै निषेधाज्ञा गरिएको छ र कुनै जिल्लाले निश्चित क्षेत्रमात्र सिल गरेका छन् ।नेपाल सरकारको निर्णयले कोभिड–१९ को संक्रमण रोक्न गत चैत ११ गतेदेखि झण्डै चार महिना बन्दाबन्दीको आदेश कार्यान्वयन गरिएको थियो । तर, लकडाउनले जनजीवन नै प्रभावित हुन पुगेको निष्कर्षसहित यही साउन ५ को मन्त्रिपरिषद्को निर्णयले साउन ६ गतेदेखि औपचारिक रुपमा बन्दाबन्दी अन्त्य भएको घोषणा भयो ।त्यसलगतै मानिसको चहलपहल लापरवाही बढ्यो । त्यसपछि विस्तारै कोभिड–१९ ले उग्ररुप लिन थाल्यो ।

    अहिले दैनिकजसो तीन/चार सय मानिसमा सङ्क्रमण देखिन थालेको छ ।शुरुदेखि नै भारतबाट आवातजावत बढी भएको ठाउँमा देखिएको संक्रमण अहिले पनि भारततर्फ सिमाना जोडिएको तराईका क्षेत्रमा बढी छ । उपत्यका पनि जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । सरकारको निर्णय अनुसार अहिले जिल्ला र स्थानीय तहले समेत रोग नियन्त्रणका लागि आवश्यक निर्णय गर्ने अधिकार दिइएको छ । ऐन, नियम र सरकारको आदेश अनुसार नै जिल्ला र स्थानीय तह अहिले कोभिड–१९ रोक्न सक्रिय भएर लागेका छन् ।

    पहिले सरकारले गरेकोे निर्णय कार्यान्वयन गर्ने स्थानीय तह अहिले आफैँ निर्णय गर्दै कार्यान्वयन गरिरहेका छन् ।प्राप्त विवरण अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही, र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । त्यसमध्ये सप्तरी, सर्लाही, स्याङ्जा, बाँके र बारा, पर्सा र रौतहटमा भने जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरमा प्रवेश निषेत्र गरिएको छ । यता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् ।