• रौतहट न्यूज// नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार आइतबार मात्र पर्सामा ७३ नयाँ संक्रमित थपिएका छन् ।

    नारायणी अस्पतालको प्रयोगशालमा आइतबार राति गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार साँझ गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिका– १२ का वडाध्यक्षसहित ३८ जनामा कोरोना पुष्टि भएको थियो ।

    राति संक्रमण पुष्टि हुनेमा वीरगन्जका ३९ वर्षीय पत्रकारसमेत रहेका छन् । विगत दुई दिनदेखि ज्वरो आएपछि गत शनिबार उनले स्वाब परीक्षणका लागि दिएका थिए । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् ।

    संक्रमित थुनुवाको सम्पर्कमा आएपछि गत साउन १३ मा वडा प्रहरी कार्यालयमा स्वाब संकलन गरिएको थियो ।डा.सिंहका अनुसार ३५ जना नयाँ संक्रमितमध्ये १४ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा पोजिटिभ भेटिएका छन् । ३५ संक्रमितमध्ये १९ जना वीरगन्ज महानगरपालिका ११ श्रीपुरका बासिन्दा हुन् ।

    आइतबार साँझको परीक्षणमा सोही वडामा २७ जना र शनिबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।वडा नम्बर ११ का अध्यक्ष प्रदुम्न सेढार्इंका अनुसार गत साउन १५ मा भएको भएको मास ट्रेसिङमा २ सय ५२ जनाको स्वाब संकलन भएको थियो जसमध्ये २५ जना कन्टयाक्ट ट्रेसिङका थिए ।

    वीरगन्ज महानगरपालिका ९ स्थित रेल्वे स्कुलमा गत साउन १३ मा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । साउन यता पर्सामा ४ सय २५ नयाँ संक्रमित थपिएका छन् ।