• २४ असार २०७७
  • (Wednesday 08 July, 2020)

    ४ असार, काठमाडौं । केन्द्रीय राजधानीबाट सात सय किलोमिटर टाढाको जाजरकोट र रुकुमसँग राजधानीको निकै राम्रो परिचय छ । कहिले खाद्य संकटले, कहिले भोकमरीले, कहिले बाढी पहिरोले उक्त ठाउँले आफ्नो परिचय दिइरहन्छ । त्योभन्दा ठूलो परिचय यो ठाउँले १० वर्षे द्वन्द्वकालमा दियो ।

    तत्कालीन माओवादीले असमानता, अन्त्याय, विभेदविरुद्धको क्रान्तिको इपिसेन्टर रुकुम र जाजरकोटले केन्द्रलाई थरथर पार्‍यो । रुकुम र जाजरकोटका अधिकांश घरमा परिवर्तनको विगुल फुक्नका लागि हँसिया हथौडा अंकित रातो झण्डा ठडिए । जनताको शासनका लागि जनकम्युनहरूले त्यही भूमिबाट बुलन्द आवाज उठाए ।

    शान्तिप्रक्रियामा आएपछि आज पनि काठमाडौंका लागि निकै नजिकको साइनो छ रुकुम र जाजरकोटसँग । किनकि रुकुमकै जनार्दन शर्मा प्रभाकर र जाजरकोटका शक्तिबहादुर बस्नेत सत्तासीन दलमा छन् र बस्नेत त प्रत्यक्ष रुपमा सत्तामा नै छन् ।

    यावत सकारात्मक पहिचानले सजिएको रुकुमले सबै प्रकारका क्रान्तिलाई नै थरथर पार्नेगरी अर्को एउटा नकारात्मक परिचय थपेको छ । अन्तरजातीय बिहे गर्नको लागि हिँडेका नवराज विकको समूहलाई कम्युनिस्ट पार्टीका वडाध्यक्ष डम्बर मल्ल र केटीको परिवारको योजनामा लखेटीलखेटी, कुटीकुटी छ जनाको क्रूर संहार गरिएको छ । नवराज र केटी दुवैको घरबाट देखिने भेरी नदीमा भेलसँगै क्रान्तिका यावत उपलब्धिलाई निर्दयी पाराले बगाइयो ।

    त्योभन्दा दुखद् घटना त त्योभन्दा बढी क्रान्ति गरेरै आएका मन्त्री शक्ति बस्नेतले यति ठूलो क्रूर घटनामा अहिलेसम्म एकपटक पनि पीडितको परिवारलाई फोनसम्म गरेनन् । अर्का क्रान्ति लडेर आएका योद्धा जनार्दनले यो घटनामा मानिसहरू भेरीमा आफैँ हामफालेको प्रतिक्रिया दिए ।

    नवराज र उनका साथीहरू हिँडेको बाटो पहिल्याउँदै हामी हत्याको ११ दिनपछि जाजरकोट–रुकुम पुग्यौं ।

    ग्राउण्ड जिरो

    २१ वर्षीय जवान नवराज विकको जीवन गत १० जेठबाट नयाँ मोडमा उभिँदै थियो । परिवारका सदस्यहरूको दाबीअनुसार अघिल्लो दिन नै उनकी प्रेमिकाले बिहेको निम्तो दिएकी थिइन् । फोन सम्वादपछि नवराजले हातमा कोरेको गृष्मा (नाम परिवर्तन) को ट्याटु हेरेर मुसुक्क हाँसेका थिए ।

    १० गते नवराजको अनुहार अरू दिनको भन्दा चमकदार थियो । बिहानै उठे । कपाल काटे । नुहाए । खाना पकाए । आफ्नो कोठालाई चिरिच्याट्ट पारे । घर छेउकी सानीआमासँग पनि गएर भने, ‘आज आफैँ खाना पकाएको छु । तपाईं पनि मैले पकाएको खान आउनु है ।’

    नवराजले मटेलाका माइली सानीमाका छोरा लोकेन्द्र सुनारलाई फोन गरे, ‘ए केटा ! आज सोती गाउँ भाउजू लिन जानु छ है । तेरो साथीहरूलाई पनि खबर गर्नू ।’

    लकडाउनले नेपालगञ्जबाट सिक्दासिक्दैको सुनको काम छोडेर घर आएका लोकेन्द्र फुरुङ्ग भए । अतिविपन्न परिवारमा जन्मिएका लोकेन्द्रको पढाइ नौ कक्षाभन्दामाथि उक्लन सकेको छैन । दाइको बिहेको खुसी लोकेन्द्रले आमा लक्ष्मी सुनारसँग साटे ।

    त्यतिबेला लक्ष्मीले नजिकै बगेको भेरीतिर फर्केर निधार खुम्चाउँदै भनेकी थिइन्, ‘ठकुरीको छोरी कहाँ हामीसँग आउँछन् र ?’ यी सबको के पर्वाह लोकेन्द्रलाई । भेरी नदी किनारमा भएको एक्लो घरबाट आफ्नो मटेला बजारका साथी गोविन्द शाहीलगायतका साथीलाई खबर पुर्‍याउन दौडिए ।

    बिहेको खवर नवराजले घर तल्तिरका दाइ (साथी) सञ्जु बिक र गणेश बुढामगरलाई पहिले नै जानकारी दिइसकेका थिए । केही दिनअघि साथीको विवाह गर्दा पनि त्यसरी समूहमा गएका थिए ।

    नवराजको चमक–ढमकमा शंका लागेर आमा उर्मिलाले भनेकी थिइन्, ‘खुब छाँट छ त ! काँ जाने होस् र ?’

    नवराजले फ्याट्ट प्रश्न नै फर्काएका थिए, ‘काहीँ जान्न । सरसफाइ गर्न पनि हुन्न र ?’ तर, नवराज साढे १० बजेतिर घरबाट गायब भए । कुनै सूचनाविनै । उर्मिलालाई लाग्यो, सधैँ जाने साथीको घरमा वाइफाई चलाउन गएको होला ।

    नवराज भने जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँको घर छोडेर अर्कै यात्रामा निस्किसकेका थिए । आफ्ना १० जना साथीको साथमा सोतीको यात्रामा । गृष्मा दुलही भएको कल्पनामा डुब्दै ।

    लकडाउनको समय । सवारी सञ्चालनमा थिएनन् । तर सोती गाउँ उक्लिनुपूर्व करिब ३७ किलोमिटरको दुरी पार गरी भेरी नदी किनारसम्म झर्नुपर्छ । जहाँ विकासशील मटेला बजार छ । तर, नवराजहरू मटेला बजारसम्म पुगेनन् । बरु, मटलाबाट लोकेन्द्र साथीहरु बाकेर ढल्ला पुलनेर उक्लिए । त्यही पुलमा भयो नवराज र लोकेन्द्रको समूहको जम्काभेट । नवराजका साथी सुदीप खड्का भन्छन्, ‘ढल्ला पुलमा त्यस्तै साढे एक बजे भेट भएका थियौं ।’

    तर, नवराजका नजिकका साथीहरूबाहेक कतिपयलाई बिहेको खबरले सडक बनायो । खेलकुदमा विलक्षण नवराजको जन्ती हुन पाएकोमा उनीहरूको मन चङ्गा थियो ।

    नवराज यस्ता व्यक्ति थिए जो हाइजम्प, फुटबल, पौडी, कबड्डी र भलिबलमा उत्कृष्ट भएका दुई दर्जन बढी सर्टिफिकेट हात पारिसकेका थिए । आर्मीले खेलकुदमै उत्कृष्ट र अनुशासित भएबापत विद्यार्थीलाई दिने तीन महिना तालिम लिने ‘राष्ट्रिय सेवा दल’का क्यादर पनि थिए उनी ।

    प्रमाण पत्र देखाउदै नवराजकी आमातर, गोपाल बुढाथोकी भने खै के सोचेर हो, ढल्ला पुल तरेपछि आफ्नो घर फर्किए । गोपाललाई हात हल्लाउँदै १८ जना युवाको समूह मध्यपहाडी करिडोरको बाटो जिउला बस्ती पार गरी स्याल खोलासम्म पुग्यो । करिब पाँच किलोमिटरको दुरी पार गर्दै ।

    स्याल खोला अर्थात् मध्यपहाडी लोकमार्गको यो सडकमा केवल तीन घर छन् । त्यहीँबाट सानो गोरेटो छ गृष्माको घर उक्लने । यो त्यति धेरै आवत जावत हुने गोरेटो होइन । तर, गृष्माको घर पुग्न निकै छोटो बाटो भने हो । नवराजको समूह त्यही बाटो उक्लियो ।

    घना जंगल । जंगलको बीच निकै ठाडो गोरेटो । सर्पको चालमा हिँडनुपर्ने । उनीहरू साल, माल र सल्लाका पातहरू टिप्दै, मुखमा च्याप्दै, सुसेल्दै उक्लिए । करिब १५ मिनेटको जंगलको दुरी पार गरेपछि सोतीको मुख्य गाउँ आइपुग्छ । करिब ३० वटा घर भएको । उनीहरू बस्ती छिचोल्दै सबैभन्दा सिरानको घर पुगे ।

    रुकुम(पश्चिम) चौरजहारी नगरपालिका – ८, सोती गाउँमा ।  पुरानो दरबार शैलीको घरलाई रातो माटो र कमेरोले पोतिएको छ । ढुंगा बिच्छ्याइएको घरको कम्पाउण्ड सलक्क छ । तीनतले घरको दुईपाते ढुंगाको छाना छ । घर छेउबाटै कच्ची मोटरबाटो सोझिएको छ । गृष्माको घर यही हो ।

    नवराजको समूह त्यही मोटरबाटोमा रोकियो । ग्रिष्माकी आमा प्रकाशी मल्लले देखिहालिन् ।  सँगै पुगेका महेश कार्की भन्छन्, ‘गृष्माकी आमा घरछेउबाट चिच्याउनुभयो – तिमीहरू डुमलाई अस्ति कुटेर पुगेन ! मार्नै पर्ने हो …..। हामी गाली सहन नसकेर फर्कियौं । भयो, बिहे पछि गरौंला भन्दै ।’

    गत वैशाखमा नवराज नीलै भएर दाहिने आँखाको नीलडाम बोकेर फर्किएका थिए । १७ वैशाखमा बसेको नवराजको आँखाको नीलडाम अझै निको भइसकेको थिएन ।

    परीक्षा सकिएलगत्तै गृष्माका भाइ लक्षुमान नवराजको घरमा बस्न पुगेको उनकी भाउजू बताउँछिन् । एक हप्ता बढी विताएपछि नवराज नै लक्षुमान(१३)लाई सोती गाउँमा पुर्‍याउन पुगेका थिए । गाउँलेहरुका अनुसार केही दिन बसेपछि नवराज नै लक्षुमानलाई सोती गाउँमा पुर्‍याउन पुगेका थिए । नवराजले लक्षुमानलाई परिवारको जिम्मा लगाउन नपाउँदै वडा अध्यक्ष डम्मर मल्ल झुल्किए । केटीको घरभन्दा दुई घर तल छ नीलो रङले पेन्टिङ गरिएको वडाध्यक्ष डम्बर मल्लको घर । तत्कालीन माओवादीका जनमुक्ति सेना हुन्, उनी ।

    चार वर्षको छोरालाई काखमा च्यापेकी गृष्माकी भाउजू भन्छिन्, ‘विनोद र लोकेन्द्र मल्लले त्यतिबेला नवराजलाई झापड हान्दै सम्झाइस्या’थ्यो ।’

    अनि अध्यक्ष डम्बरले चौरजहारीका प्रहरीलाई बोलाएर नवराजलाई हिरासतमा कोचे । किनकि कथित उच्च जातकी युवतीलाई प्रेम गर्नु नवराजको ‘ठूलो अपराध’ थियो । प्रहरीको अनुसन्धानले भन्छ कि नवराजको यो ‘अपराध’ बारे गाउँलेलाई पहिल्यैदेखि थाहा थियो । प्रहरीको अनुसन्धानले नवराज चारपटकसम्म गृष्माको घरतर्फ गएको देखाउँछ ।

    चौरजहारी प्रहरीबाट फोन आएपछि नवराजकी आमा उर्मिला झसंग भइन् । हुत्तिँदै आफ्नो छोरालाई छुटाउन अर्को दिन ११ बजे नै पश्चिम रुकुमको चौरजहारी प्रहरी चौकीमा हाजिर भइन् । उर्मिलालाई तत्कालै आफ्नो छोरा घर लिएर जान मन थियो । एउटा छोरा नवराजलाई काँडाले सानो घाउ बनाउँदा पनि उर्मिला अत्तालिन्थिन् । तर साँझ पाँच बजेसम्म कुर्दा पनि प्रहरीबाट छुटाउने सुरसार देखिएन । किनकि, थुनाउने मानिस नै त्यहाँ उपस्थित थिएनन् ।

    साँझ पर्न थालेपछि प्रहरीले रेडिमेड कागज लिएर उर्मिला र नवराजलाई हस्ताक्षर बनायो अनि हिरासतमुक्त गरिदियो । त्यो पत्रमा के लेखिएको थियो, उर्मिलाले त पढ्न पाइनन् । तर, इलाका प्रहरी कार्यालय चौरजहारीका इन्स्पेक्टर धर्म विष्ट भन्छन्, ‘साँझ पाँच बजेतिर वडाध्यक्षले छोडिदिनू भनेपछि अबदेखि लकडाउनका बेला यता नआउनू भनी कागज गरी छोडिदियौं ।’

    त्यति नै बेला छोराको आँखाको नीलो दाग देखेपछि फटाफट हिँड्दै उर्मिला बर्बराएकी थिइन्, ‘अब कहिल्यै त्यहाँ नजानू । प्रेमलाई हिंसा गर्ने ठाउँमा जानुहुँदैन ।’

    नवराजले टाउको हल्लाएका थिए ।

    ‘बिहेको उत्सव’ नरसंहारमा बदलियो

    प्रेमले बोलाएपछि प्रेमकै बलले नवराज फेरि जेठमा सोती पुगे । प्रहरीका अनुसार ०७५ पुसदेखि नवराज र गृष्माको औपचारिक रुपमा प्रेम रहेको देखाउँछ । र, दुईपटक नवराजकै घरमा पुगेर रात विताएकी थिइन् ग्रुिष्माले । एक पटक मेला हुँदा र अर्को पटक नवराजको आन्टिको छोराको जन्मदिनमा । काकी पूर्णिमा विक भन्छिन्, ‘सानो गुडिया पनि उपहार ल्याइदिएकी थिइन् ।’ त्यतिबेलाको ग्रिष्माको व्यवहारले उर्मिलालाई बुहारकिो झल्को मेटाउँथ्यो ।

    तर, १० गते आफ्नो प्रेमिकाको अनुहार पनि हेर्न नपाई नवराज बाटोबाटै सिधै पूर्वतिरको बाटो लागे । धुलाम्मे मोटरबाटैबाटो ।

    सातदेखि १० मिनेटको पैदलयात्रापछि कुवा(नाउ)सम्म पुगे । कुवाको चिसो पानीले अनुहार शीतल बनाए । तल खोचमा सुसाइरहेको भेरी हेर्दै थकान मारे । बेपत्ताले उर्लिएको भेरी क्षितिजसँगै सकिन्छ ।

    त्यहाँबाट पाँच मिनेट झरेपछि विनोद मल्लको घर आउँछ । यो तीन घरको बस्ती हो । विनोदकी फुपु चन्द्राका अनुसार नवराजको समूह विनोदको घरमा पुग्यो र विनोद नभएको खवर पाएपछि सिधै जंगलको बाटो झर्‍यो ।

    विनोदको घरभन्दा तल जंगल छ । नवराजको समूह जंगलै जंगल सल्लाको पात कुल्चिँदै दौडियो । समूह ठूलो भएकाले कोही निकै अघि त कोही पछि थिए । लकडाउन भएकाले पनि उनीलाई एउटै समूह बनाएर हिँड्न डर थियो । भोला बीसी भन्छन्, ‘नवराजसहित छ/सातजनाको समूह हामीभन्दा धेरै पछि थिए ।’

    करिब साढे दुई किलोमिटरको बाटो पार गरी उनीहरू मध्यपहाडी लोकमार्गनेर झुल्किए । सडकमा नझर्दै एउटा ढुंगा छ । उनीहरूको समूह त्यही ढुंगामा केही छिन विश्राम गर्‍यो । त्यहीँबाट आफ्नो गाउँ जाजरकोटको खलंगा बजारलाई सरसर्ती नियाले । भेरीपारि डाँडाको टुप्पामा देखिन्छ भिरालो खलंगा बजार ।

    सल्यानको सल्लेरी हुँदै आएको यो लोकमार्ग भेरीको किनारैकिनार रुकुमतर्फ लम्किएको छ । जहाँ दुई घुम्ती छन् । करिब एक किलोमिटर पर जाजरकोट र रुकुम साँधको भेरी अनन्तसम्म अविरल छ । साँझको त्यस्तै साढे पाँच बजेकाले भेरी नदीको क्षितिज अँध्यारिँदै थियो ।

    उनी त्यो ढुंगाबाट भर्खर घुम्तीमा झरेर पाइला के सार्दै थिए ठूलो होहल्ला उनीहरूको कानमा कोलाहाल मच्चाउन आइपुग्यो ।

    घाइते सुदीप खड्का भन्छन्, ‘हाम्रैपछि दौडिँदै आइरहेका थिए थुप्रै मानिसहरू । एकथरी जंगलतर्फबाट, अर्कोथरी मध्यपहाडी बाटो हुँदै । उनीहरूको हातमा हँसिया, दाउरा, किला थिए । कोही घुम्तीको भिरबाट हाम फाल्यौं कोही बाटैबाटै रुकुमतर्फ दौडियौंं । तर रुकुमतर्फबाट पनि उत्तिकै संख्यामा मानिसहरूले हामीलाई नै प्रहार गर्दै आइरहेका थिए ।’

    गाउँ यसरी उल्टिएको थियो कि तत्कालीन माओवादीले सत्तापक्षलाई आक्रमणका लागि घेराउ गर्न जत्तिकै उनीहरूले अहिले अन्तरजातीय बिहेलाई निषेध गर्नका लागि योजना बनाएका छन् । आफूहरूविरुद्ध गाउँ नै उल्टिएपछि १६ देखि २२ वर्ष उमेरसमूहका ती युवाहरू हायल–कायल भए । अब उनीहरूका लागि एउटा मात्र बाटो विकल्प बन्यो कि भेरी नदीतर्फ झर्ने ।

    भेरी नदी पुग्नका लागि करिब एक किलोमिटरको मकैबारी फाँट पार गर्नुपर्छ । उनीहरू त्यही फाँटतर्फ दौडिए । छेउमै गोइरी जिउलाका स-साना दुई गाउँ छन् । तर, आक्रोशित समूहको घेराबन्दीसामु उनीहरूको गति धीमा बन्यो । मकैबारी, धुलाम्मे सडक, भेरी नदीको किनार रणमैदान बन्यो । । सोतीकै गोइरी जिउलाबासी रमिते बने ।  सोतीको चारदेखि पाँचवटा गाउँ नवराजको समूहमाथि खनिएको प्रहरीको अनुसन्धानले भन्छ ।

    घाइतेहरूका अनुसार एकदेखि डेढसय जना उनीहरूमाथि खनिएका थिए । घाइते सुदीप कुहिनामा हँसियाले हानेको लामो घाउ देखाउँदै भन्छन्, ‘माथि भिरमा बसेर हेर्ने महिलाहरूको समूह पनि ठूलो थियो । खासगरी युवाहरूले आएर हामीलाई कुट्न थालेका थिए ।’

    बिहेको उत्सव मनाउन हिँडेका युवाहरू बलिको बोको जसरी मकै बारीमा ढल्दै थिए ।

    कतिपय फुत्केर फेरि नदीको किनारसम्म पुगे । त्यति हुँदा पनि उनीहरूलाई सुख थिएन । हँसियाले हानेर सुन्निएको मेरुदण्ड देखाउँदै घाइते जीवन खड्का भन्छन्, ‘एकजनालाई १०/१२ जनाले कुटिरहेका थिए । एकैपटक टाउकोदेखि खुट्टासम्म चोट लाग्थ्यो ।’

    । उनीसँगै भएका अर्का घाइते मदन शाही भन्छन्, ‘मेरो छाती दुखेर सुत्नै भएन । अहिलेसम्म छुन भएको छैन ।’

    घटना भएको १५ दिनपछि घाइतेहरूले हामीलाई खलंगा बजारमा बसेर यी सब सुनाइरहेका छन् ।

    र, पनि पाँचजना नदी पार गर्न सफल भए । पाँचजना नदिबीचको भंगालोमै अड्किए । उनीहरू एकै स्वरमा भन्छन्, ‘तर हत्या भएका ती ६ जनालाई हामीले कतै पनि देखेनौं ।’

    यो पनि पढ्नुहोसनवराजकी प्रेमिकाको वयान : ‘भोलिपल्ट उनको मृत्यु भएको सुनेँ’

    घटनाको इतिवृतान्त

    मध्यपहाडी लोकमार्ग पार गर्दै पाखैमा उनीहरूमाथि आक्रमण भएको हुन सक्ने उनीहरूको अनुमान छ । हत्या गरेपछि खोलामा फालिदिएको प्रहरीको वयानमा अभियुक्तहरुले स्वीकारेका छन् ।

    उनीहरूलाई नदीमा पनि ढुंगाले पच्छाइरह्यो । जब उनीहरू नदी पार गरे, त्यहाँ पनि उनीहरूलाई आक्रमणका लागि ढुकेर बसेको अर्को टोली थियो । जो सोतीको गाउँबाट फुटबल खेल्ने निहुँमा कालागाउँसम्म पुगेको थियो ।

    प्रहरीका प्रमुख अनुसन्धान अधिकृत एसएसपी पोषराज पोखरेलका अनुसार नदी पारि ११ जनाको समूह उनीहरूमाथि आक्रमण गर्नका लागि कुरेर बसेका थिए ।

    त्यही रणभूमिपारि कालेगाउँमा प्रहरी चौकी छ । त्यहाँबाट नाङ्गो आँखाले घटनास्थलको गतिविधि मसिनो गरी देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रहरीले घटना देखेपछि पारिबाट सिठी फुकेको छ । तर हामीलाई ६ः१५ मा मात्र वडाध्यक्षमार्फत जानकारी आएको हो ।’

    त्यसपछि मात्र प्रहरी चौकीको असईको नेतृत्वमा चारजना प्रहरी साढे छ बजे मात्र घटनास्थलमा पुग्छन् । घाइते गोविन्द सुनार भन्छन्, ‘प्रहरीले पारिबाट सिठी फुकेको थियो । हामीमाथि कुटपिट भइरहेको थियो ।’ दुई जनालाई प्रहरीले बाटो नेरै कुटपिटकै अवस्थामा भेटाएको थियो ।

    घटनास्थलमा पुगेपछि जाजरकोट प्रहरीले १२ जना घाइतेलाई समात्यो । तर आक्रमणकारीलाई प्रहरीले निष्फिक्री छाडिदियो । हँसिया, लठ्ठी, किलासहितका आक्रमणकारीलाई न पक्राउ गर्‍यो न सोधपुछका लागि चौकीमा पुर्‍यायो ।

    जाजरकोटको प्रहरीले सात किलोमिटरको दुरी पार गरेरर जिल्ला पुगेको चौरजहारीका चौकीका इन्स्पेक्टरको टोलीलाई घाइतेहरु बुझाइदिए । इन्स्पेक्टर धर्म भन्छन्, ‘हामीले घाइतेलाई नौ बजे हस्पिटलमा पुर्‍यायौं । सुदीप र उसको साथी गम्भीर घाइते भएकाले हस्पिटलमै राख्यौँ र अन्य १० जनालाई प्रहरी चौकीमा राख्यौं ।’

    भेरी नदीको चिसोपानीले लुछुप्पै परेर थरथरी कापिरहेका घाइतेलाई चौरजहारी प्रहरीले रातको एक बजेसम्म केरकार गर्‍यो ।

    उता साढे छ बजे नै भेरी नदीको बीच भागमा शव भेटिएको खबर नवराजकी आमा उर्मिलाको कानमा पर्‍यो । उनी बत्तिँदै ७ बजे नै जिल्ला प्रहरी कार्यालय जाजरकोट पुगिन् । उनलाई लागेको थियो कि फेरि पनि छोरालाई कतै प्रहरीले त लगेन । तर रातको ११ बजेतिर बहिनी लक्ष्मीले उर्मिलालाई रुँदै फोन गरिन्, ‘नवराजलाई त भेरीमा बगाइदिए क्यारे ।’ यो अकल्पनीय खबरले नवराजको घर रोदन घर बन्यो ।

    उर्मिला बुर्कुसी मारेर भेरी नदी किनारमा पुगेर आफ्नो छोरालाई अँगालो हाल्न चाहन्थिन् । तर, उर्मिलाका श्रीमान् र केही आफन्त भेरी नदीतिर लागे । नवराजका बाबाले बाटैभरि कामना गरेका थिए । त्यो सब कुनै हालतमा पनि मेरो छोराको नभइदियोस् ।

    नवराजका बाबाको समूह भेरी नदीको किनारमा पुग्दा रातको एक बजिसकेको थियो । केहीबेरअघिको निरन्तरको हावाहुरी र भारी वर्षा रोकिएको थियो । केही प्रहरीसहित दुई/चारजना मानिस खोलाको किनारमा भेरीबीचको लास रुँघेर बसेका थिए । कपडाबाटै नवराजका बाबाले थाहा पाइहाले – त्यो मेरै छोरा हो । उनी बेहोस् भई बगरमै ढले ।

    नवराज भेरीको बीच बगरमा चुपचाप घोप्टो परेर सुतेका थिए । उनको छेउमा झोला थियो । सुसाइमात्र रहने भेरी नदीको छालले बेलाबेला उनलाई हिर्काउथ्यो । सर्टको फेरो फर्फराउँथ्यो । मध्यरातमा चुनको धुमिल उज्यालोले यी सब दृश्य देखाउँथ्यो । नवराज भेरीको बगरजस्तै चुपचाप शान्त थिए ।

    उनको प्रेम शान्तसँग भेरीको सुसाहतसँगै अलप भएको थियो । नवराजका बाबा भन्छन्, ‘हात भाँच्चिएको थियो । टाउको ढुंगाले थिचेको थियो । टाउकोमा गहिरो खोपिल्टो परेको थियो ।’ प्रहरीको रिपोर्टले भन्छ, ‘रातको एक बजे शव नवराजकै हो भन्ने सनाखत भयो ।’

    पश्चिम रुकुमका डीएसपी ठकबहादुर केसी भन्छन्, ‘त्यतिबेलासम्म एकजनाको मात्र मृत्यु भयो भन्ने खबर आयो । अरू कतै भागेका होलान् भनेर पनि हामी त्यति धेरै सिरियस भएनौं ।’

    अर्कोदिन आठ बजे मात्र जाजरकोटको प्रहरीले नवराजको मुचुल्का उठायो । यता पश्चिम रुकुमले साढे सात बजे १० जनाको अनुसन्धान टोली घटनास्थलमा पठायो । ठकबहादुर भन्छन्, ‘हामीले घटनास्थलमा एउटा सग्लो र एउटा भाँचिएको लाठी भेटायौं ।’

    नवराजलाई जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट पुर्‍याउँदा दिउसोको दुई बजिसकेको थियो ।

    जाजरकोटको खलंगा र मटेलाको गाउँ नै नदीको किनार नै किनार नवराजका अन्य साथीहरू खोज्न निस्किएका थिए । उनीहरूका साथमा प्रहरी पनि थिएन ।

    साँझको ५ः३० बजे स्थानीयले भेरी नगरपालिका ११ खोदाखोला स्थानीयले टीकराम नेपालीको शव भेटाए । पछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठायो ।

    डीएसपी ठकबहादुर भन्छन्, ‘अर्कोदिन पनि शव भेटिएपछि बल्ल हामी यो त निकै ठूलो घटना भएछ भनी सिरियस भयौँ ।’

    तर, प्रहरीले वडाध्यक्ष र परिवारका तीन सदस्यलाई १२ गते मात्र सोधपुछका लागि लग्यो । वडा अध्यक्षलाई १३ गते फेरि घर फर्कायो । डीएसपी केसी भन्छन्, ‘१३ गते हामीले सिभिलमा हाम्रा साथीहरूलाई पठायौँ । त्यो क्षेत्र सिल गरेर १४ गते बिहान १८ जनालाई पक्राउ गर्‍यौं ।’

    यो पनि पढ्नुहोसगृहको प्रतिवेदन : रुकुम घटनाको योजनाकार वडाध्यक्ष !

    जेठ १२ गते जाजरकोटको प्रहरीले जाहेरी लिन नमानेपछि १३ गते आन्दोलनसहित सोतीका २० जनाविरुद्ध जाहेरी दर्ता गरेको कुशे गाउँपालिका–१, गोपालबहादुर नेपाली सुनाउँछन् ।

    नवराजको घर तल्तिर सञ्जु, त्योभन्दा तल गणेश बुढा मगरको घर छ । एनसीसीमा छनौट भई सँगै तालिम लिने गणेश बुढा पनि थिए । खेलकुदका पनि हितैसी । २३ गते उनको घर पुग्दा पाँच सय रुपैयाँको डेरामा गणेशको फोटो छेउमा अगरबत्ति बलिरहेको थियो । त्यो कोठामा सुत्ने खाटसम्म थिए ।

    जेठ २३ गते पाँच सय रुपैयाँको डेरामा गणेशको फोटोको छेउमा अगरबत्ती बलिरहेको थियो । कोठामा सुत्ने खाटसम्म थिएन ।

    गणेशको बाबा-आमा दुवै घरको मिस्त्री काम गर्थे । उनीहरु बिहानै सात बजे घरबाट निस्कन्थे । ११ बजे खान खान पुग्थे अनि फेरि रातिमात्र डेरा फर्कन्थे । १० गते भने आमा राधिकाले खशीको मासु लगेर पकाउन अह्राएकी थिइन् । तर, गाणेश अलि पछि गरौँला भनेका थिए । छोराको सुरसार नदेखेपछि चार बजे फेरि राधिकाले छोरालाई फोन घुमाइन्, ‘बाबु बेलुकीलाई खशी मासु लगेर पकाएर राख है !’ गणेशले फोनमै जवाफ फर्काए, ‘आज कुदुतिर आएको छु, अलि ढिला हुन्छ होला । नआउन पनि सक्छु ।’

    त्यसपछि एकै पटक १२ गते चार बजे भेरी नगरपालिका १२ फेरामा गणेश बुढा भेरीमा तैरिरहेको अवस्थामा भेटिए । आमा राधिका भन्छिन्, ‘एकापट्टिको पूरै भाग सुन्निएको थियो । अरू हेर्न सकिनँ ।’

    छोराको मृत्युको पीडाले उनी सुत्न पनि सकेकी छैनन् । उनले बसेको घरमा छोराको किरियासम्म गर्न दिइएन । बलिन्द्र धारा आँसु पार्दै भक्कानिन्छिन्, ‘नदी पार गर्दैगर्दा ढुंगाले हानेर मारेछन् । हामीलाई न्याय दिनुस् । हत्यारालाई जन्मकैद गरिदिनुस् । हाम्रो त कोही छैन, कहाँ जाऔं ।’

    जेठ १४ गते दिउँसो साढे एक बजे नै भेरी नगरपालिका १३ राक्सेमा लोकेन्द्र सुनारको शव भेटियो । गणेश शाहीको टिमले उनको शव भेटाएका थिए । मटेलाको भेरी नदीको किनारमै लोकेन्द्रको घर छ । एक तले, फलेकले बारेको ।

    ऐलानीको सानो झुप्रोबाहेक कमाइ खाने उनीहरूसँग जमिन छैन । नदी किनरमै घर भएकाले लोकेन्द्र पौडीमा च्याम्पियन । त्यसैले आमा लक्ष्मीलाई लास नभेटिँदासम्म पनि छोरा पक्कै फर्किन्छ भन्ने आश थियो ।

    सुसाइरहेको भेरी नदी गहिरो गरी हेर्दै लक्ष्मी भन्छिन्, ‘छोरालाई यसरी कुटिएको थियो कि मैले चिन्नै सकिनँ । उसले लगाएको कपडाले मात्र ठम्याएको हुँ । आँखै थिएन ।’

    एक वर्षपहिले मात्र गाडी दुर्घटनामा श्रीमान् गुमाएकी लक्ष्मीलाई यो अर्को ठूलो बज्रपात थियो । जेठो छोरा भिसा सकिएपछि मलेसियामा भागीभागी जीवन धानिरहेका छन् । बेसाहारा लक्ष्मीलाई एकातिर शोक छ, अर्कोतर्फ भोकको चिन्ता छ ।

    लोकेन्द्रका शव भेरी किनारसम्म तानेका गणेश भन्छन्, ‘उसको  शवबाट रगत बगिरहेको थियो । कुटाइले अण्डकोष सुन्निएर बेलुनजस्तो भएको थियो । शरीरभरी हेर्नै नसक्ने विभत्स चोट थियो । हात पछाडि लगेर डोरी बाँधिएको थियो । हामीले लास झिक्दा चुडियो ।’

    त्यतिबेलासम्म देशव्यापी रुपमा हत्याको विरुद्ध आन्दोलन उर्लिसकेको थियो । मृतकका आमाहरु दैनिकरुपमा जिल्ला प्रहरी कार्यालयमा जाँदै न्याय माग्न थालेका थिए । घाइतेहरूको वयान दिँदैमा दैनिकी बित्थ्यो । कहिले पुलिसलाई, कहिले अधिकारकर्मीलाई, कहिले मिडियालाई, कहिले….. ।

    तर, उनीहरूको उपचारमा कुनै संयन्त्रले ध्यान दिइरहेको थिएन । उता अनुसन्धान भइरहेको पश्चिम रुकुममा भने विरोधको कुनै स्वर सुनिएको थिएन । बाहिरीरुपमा रुकुम यति शान्त थियो कि मानौं यहाँ केही पनि भएको छैन ।

    स्थानीयको अवरोधबीच तीन दिनपछि प्रहरीले पोस्टमार्टम गर्‍यो र शवको अन्त्येष्टि गरियो । धेरैले विवादित यस घटनाको शव जलाउन नहुने तर्क गरिरहेका थिए ।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ भन्छन्, ‘तीन दिन भइसकेकाले लास दुर्गन्धित भइसकेका थिए । हामीसँग लास राख्न सक्ने आइस थिएन । त्यो सानो शवगृहमा कसरी राख्न सम्भव हुन्छ ? पोस्टमार्टमपछि त्यो कुहिएको शव राखेर पनि के काम छ र ?’

    दुईजना अझै गायव थिए । सञ्जु विक र गोविन्द शाही । गाउँलेहरूले रातदिन नभनी लासको खोजीमा थिए । १४ गते गोताखोर पनि भेरीमा पुगेको थियो ।

    शव खोज्न हिँडेका जनक रोकाया भन्छन्, ‘गोताखोर आएकै दिन उनीहरूको डुङ्गा पल्टियो । त्यसपछि उनीहरू आराम गरेर बसे । सबै शव हामीले नै खोज्यौं र भेट्टायौं ।’

    सवर्ण, जनक रोकाय, हरी कार्की, ज्ञान शर्मा, गणेश शाहीलगायतको समूहले १५ गते साँझ तीन बजे सञ्जु विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा भेटियो । सञ्जुका २० वर्षीय श्रीमती सविना र पाँच वर्षका छोरा छन् ।

    १० जेठमा नवराजका लागि बुहारी लिएपछि साँझ बर्थडे मनाउने भन्दै सञ्जु घरबाट निस्किएका थिए । तर, शव बनेर भेटिए । ‘धारिलो हतियारले हानेर घाँटीमा दुलो परेको थियो । आँखा र अनुहारभरि चोट थियो’, सञ्जुकी आमा उनकी सविना भन्छिन, ‘आर्मी बन्छु भन्थ्यो !’

    छेउमा उभिएकी सविना सेतो कपडामा अवाक थिइन् । सायद उनी आफ्नो र सन्तानको भावी जिन्दगीबारे कल्पिरहेकी छन् ।

    घटना भएको ९ दिनसम्म पनि गोविन्द शाही कुन दुलोमा थिए, कसैलाई पत्तो थिएन । गाउँले रात दिन लगाएर त्यही भेरीको किनार तलदेखि माथिसम्म खोज्न काहीँ बाँकी राखेनन् ।

    जेठ २० गते भेरी नगरपालिका – ११, खोदाखोलामा बेलुकीको ३ः३० बजे गोविन्द शाहीको शव भेटियो । जुन, दोस्रो दिन भेटिएको टीकाराम नेपालीको शवनजिकै थियो ।

    शवको खोजीमा खटिएका सुवर्ण रोकाया अचम्म मान्दै भन्छन्, ‘दिनदिनै त्यो एक एक कुनाकाप्च हेर्दै हिँड्यौं, देखिएन । तर, एक्कासी २० गते त्यो ठाउँमा कसरी शव आइपुग्यो ? शव निकाल्नेहरुका अनुसार गोविन्दको घाँटी भाँचिएको थियो ।

    शव भेटिएको पाँच दिनपछि गोविन्दको घरमा पुग्दा आमा कपाल फिँजाएर झोक्राइरहेकी थिइन् । छेउमा गोविन्दको फोटो थियो । किरिया कर्म सकिसकेको थिएन ।

    ‘एउटा कानै थिएन, शरीरको कुनै पनि भाग चोट नलागेको, सद्दे थिएन’, गोविन्दकी फुपू यमुनाले भनिन्, ‘नाक ढुङ्गाले थिचिएर थिलोथिलो थियो । अगाडिका दाँत नै थिएनन् । हामीले उसको कपडाले मात्र चिनेका हौं ।’

    यसरी एउटा अन्तरजातीय बिहे आँट्दा छ जनाले आहुती दिनुपर्‍यो । घटनाको तीन हप्तापछि प्रहरीले अनुसन्धान सकेर वकिल कार्यालयमा बुझाइसकेको छ ।

    प्रहरीको अनुसन्धानले उक्त घटना योजनाबद्ध तरिकाले गरिएको र कुटेर हत्या गरी भेरीमा फालेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको प्रमुख कारण अन्तरजातीय बिहे र जातीय विभेद भएको बताएको छ । ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । तर अस्पतालले भने पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको छ ।

    ०००

    यो पनि पढ्नुहोस‘रोइकराइ गरिरह्यौं, वडाध्यक्षलगायतले ढुंगा र हँसियाले हान्न छाडेनन्’

    अहिले नवराजकी आमा प्रहरी र आर्मीले छोरालाई दिएका प्रमाणपत्र, ड्रेस, फोटो र किताबहरू हेर्दै दिन काटिरहेकी छन् ।

    उनलाई आफ्नो छोरो लफंगा र कुलतमा फसेको भनेर हल्ला चलाइएकाले झन् धेरै पोलेको छ ।

    ‘दुनियाँलाई थाहा छ कि मेरो छोरो बदमास थिएन । आज मेरो छोरालाई मारेर मात्र पुगेन, आवारा र ट्यापे भन्दै हल्ला चलाउँदा एउटी आमालाई कस्तो भयो होला ?’, उर्मिला भक्कानिन्छिन् ।

    उर्मिला नजिकैको स्कुलमा कार्यालय सहायकको जागिरे हुन् । आँसु पुछ्दै फेरि पुरानै अवस्था फर्किन्छिन्, ‘मेरा छोराहरूले न्याय पाउनुपर्छ । तपाईंहरू बोल्नुस् । म पनि बोल्छु ।’

    प्रतिक्रिया पोस्ट गर्नुहोस्

    Your email address will not be published. Required fields are marked *