• रौतहट न्यूज़// भारत सरकारले टिकटक र वि च्याटसहित ५९ चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ। सोमबार उसले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ मोबाइल एपमाथी प्रतिबन्ध लगाउनुपरेको जनाएको छ।

    भारतको यो निर्णय दुई साता अगाडि चीनसँगको सीमाक्षेत्रमा रहेको गलवान उपत्यकामा भएको हिंस्रक झडपमा २० सैनिकको मृत्यु भएपछि आएको हो। घटनाका कारण हाल दुबै देशको दशकौंपछि गम्भीर मोडमा पुगेको ठानिएको छ।

    विज्ञहरूले विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतबाट रहेको बताएका छन्। चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गर्दै भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ।

    ‘यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ’, सो विज्ञप्तिमा भनिएको छ। चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।